सिनेमा

माया खोजिरहेको जोडीका कथामा आसिफ र वर्षाको ‘किन मायामा’

इकागज |
पुस २९, २०७८ बिहीबार १२:२८ बजे

काठमाडौँ - ‘कर्कश’ र ‘दुई रुपैयाँ’ जस्ता चलचित्र बनाएको जिट्वान्टी वान प्रडक्सनले सिरिज निर्माण गर्ने भएको छ । निर्माण टिमले आसिफ शाह र वर्षा राउत मुख्य भूमिकामा रहने गरी सिरिज निर्माणको घोषणा गरेको छ । ‘किन मायामा’ शीर्षकमा बन्न लागेको सिरिजलाई असिम शाहले निर्देशन गर्नेछन् ।

प्रेमकथा श्रेणीमा बन्न लागेको सिरिजले मायाको खोजीमा रहेका ६ चरित्रको कथा पेस गर्ने आसिफ शाहले बताए । फागुनबाट फ्लोरमा जाने तयारीमा रहेको सिरिजका लागि बाँकी कलाकार खोजिरहेको उनको कथन थियो ।


‘ वर्षा र म एउटा जोडीको रुपमा अभिनय गर्दैछौँ । बाँकी ४ जनाको भने खोजी गरिरहेका छौँ,’आसिफले भने । उनले फिल्मका अर्को जना हिरोइनको पनि खोजी भइरहेको बताए । यसका लागि निर्माण टिमले स्थापित हिरोइन खोजिरहेको छ । आसिफका अनुसार केही हिरोइन आफ्नो दिमागमा रहे पनि टिमसँग छलफल गर्न बाँकी नै छ ।

निरन्तर म्युजिक भिडियो बनाइरहेको जिट्वान्टी वानले यसअघि ‘दुई रुपैंयाँ’को सिक्वेल बनाउने घोषणा गरेको थियो । यसको लेखनको काम सकिएको भए पनि भाइरसको बढ्दो संक्रमणका कारण अहिलेलाई थाँती राखिएको पनि आसिफले बताए । १३ भाग बन्ने यो सिरिज कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । 


Author

थप समाचार
x