सिनेमा

सूर्य शाहीको ‘ह्वील अन दि बस’ जर्मनको बर्लिनालेमा

इकागज |
माघ २, २०७८ आइतबार ११:१३ बजे

काठमाडौँ - सूर्य शाहीको डेब्यु फिल्म ‘ह्वील अन दि बस’ जर्मनको बर्लिनाले फिल्म फेस्टिभलमा छनौट भएको छ । शनिबार घोषित लाइनअपमा नेपालबाट सूर्यको फिल्म ‘जेनरेसन के प्लस सर्टस’ विधामा छनौट भएको हो । 

फिल्मले कर्णाली क्षेत्रमा विद्यमान जातीय छुवाछुतको अवस्थालाई पेस गरेको छ । निर्देशक सूर्य शाहीले माथिल्लो जातको बाहुन र तल्लो जातको कामीबीच मित्रतामा जातको प्रवेशपछि घटने घटनालाई कथानक रुप दिएको जानकारी गराए ।


कथानुसार फलामको चक्का बनाउने काममा माथिल्लो जातको युवा र तल्लो जातको जुटछन् तर काम गर्दा गर्दै माथिल्लो जातको युवा कामीकैमा निदाउन पुग्छ । यो कुरा माथिल्लो जातको युवाको बुबाले थाहा पाएपछि सारा गाउँ बोलाएर छोरालाई चोख्याउँछन् र दलित युवकलाई पनि नियमअनुसार सजाय दिन्छन् ।

सूर्य शाहीले आफू कसैलाई छुन पनि नमिल्ने गलत अभ्यास देख्दै आएकाले यिनै दृश्यबाट प्रभावित भएर फिल्मको कथा तयार गरेको बताए । ‘ह्वील अन बस अन्यायको परम्परा बताउने मेरो साधारण प्रयास हो । बर्लिनमा छनौट भएको खबरले मलाई साँच्चिकै उत्साहित बनाएको छ,’ सूर्यले भने । 

सूर्यले फिल्मको सुटिङ स्थानीय कलाकार लिएर हुम्लाको आफ्नै गाउँमा गरेको पनि जानकारी गराए । यो सालको बर्लिन भौतिक उपस्थितिमै फ्रेब्रुअरी १० देखि २० गतेसम्म चल्नेछ । सूर्य फेस्टिभलमा सहभागी हुन जर्मन जाने तयारीमा छन् । 

सूर्यले यसअघि ‘रातो टालो’ नामक सांगीतिक फिल्म बनाएका थिए । रोबिन शर्मा दाहालको छायांकन रहेको फिल्मलाई प्रवीनकुमार राउत, सुशान्त श्रेष्ठ, राजेशप्रसाद खत्री र सूर्य शाही मिलेर बनाएका हुन् । फिल्ममा मानबहादुर टमाटा र हरि बुढाको मुख्य भूमिका रहेको छ । 


Author

थप समाचार
x