सिनेमा

‘पुष्पा’ पछि अल्लु अर्जुनको ‘अला बैकुण्ठपुरमलु’ पनि हलमा

इकागज |
माघ ३, २०७८ सोमबार १२:१९ बजे

मुम्बई - ‘पुष्पा’को सफलताले प्रेरित भएर अल्लु अर्जुनको तीन वर्ष पुरानो फिल्म हिन्दीमा डब भएर हलमा आउने भएको छ । दुई वर्ष अघि नै हलमा लागेर नेटफ्लिक्समा पनि आइसकेको फिल्म ‘अला बैकुण्ठपुरमलु’ अब हिन्दीमा डब भएर हलमा आउने लागेको हो । फिल्म २६ जनवरीका दिन हलमा लाग्नेछ ।

त्रिविक्रम श्रीनिवासको निर्देशन रहेको यो फिल्मले तेलगुको बजारबाट मात्र साढे २ अर्ब हाराहारीको व्यापार गरेको थियो । पूजा हेग्डे र अल्लु अर्जुनको यो फिल्म त्यो सालको सर्वाधिक कमाइ गर्ने फिल्म थियो ।


हिन्दीमै यसको रिमेक अधिकार लिएर रोहित धवनले यसलाई हिन्दीमा बनाइ पनि रहेका छन् । ‘शाहजादे’ नाम दिएको यो फिल्ममा कार्तिक आर्यन र कियरा आडवानी मुख्य भूमिकामा अभिनय गरिरहेका छन् ।

 अल्लु अर्जुनको ‘पुष्पा’ पहिलोपल्ट हिन्दीमा डब गरेर रिलिज गरिएको थियो । तर यही हिन्दी डबले नै महामारीका बीच पनि कमाइको आँकडा ८३ करोड पुर्याएको छ । डबिङ खर्चबाहेक यो फिल्ममा हिन्दीमा ल्याउने थप एक पैसा खर्च गरिएको थिएन । ‘पुष्पा’ले यसरी कमाएको देखेपछि ‘अला बैकुण्ठपुरमलु’को हिन्दी अधिकार लिएका निर्माता तातेका हुन् । 


Author

थप समाचार
x