ढाकामा नेपालका दुई पुतली पुरस्कृत : सुजित बिडारी उत्कृष्ट निर्देशक, किरण पोखरेलको स्क्रिप्ट उत्कृष्ट

काठमाडौँ - आइतबार बंगलादेशको राजधानी ढाकामा सम्पन्न २० औँ ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा दुई नेपाली फिल्मले उत्कृष्टताको अवार्ड जितेका छन् । १७ वटा अवार्ड वितरण गर्दै समापन भएको समारोहमा ‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड जितेका हुन् ।
एसियन सिनेमा विधाको यो प्रतिस्पर्धामा सुजित उत्कृष्ट निर्देशक ठहरिएका हुन् । यही विधामा उत्कृष्ट फिल्मको अवार्ड भने भारतबाट यो साल अस्करमा सिफारिस गरिएको तमिल फिल्म ‘पेब्बल्स’ले जित्यो ।
यसैगरी किरण पोखरेलको निर्माणाधीन फिल्म ‘पुतलीको सपना’ ले स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार हात पार्यो । ‘वेस्ट मिट इस्ट’ स्क्रिनप्ले ल्याबमा प्रथम पुरस्कारसँगै फिल्मले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
महोत्सवमा सहभागी हुन ढाका पुगेका दुवै फिल्मकर्मीले आफूले जितेका पुरस्कार ग्रहण गर्न पाएनन् । ढाका पुगेका उनीहरू कोभिड १९ संक्रमित भएपछि होटलमा लाइभमा आफू विजेता बनेको हेरेर चित्त बुझाए ।
निर्देशक सुजित बिडारीले आफूहरू संक्रमित भएपछि होटलमै बसेर समारोह हेरेको जानकारी गराए । संक्रमणमुक्त भएपछि उनीहरू नेपाल फर्कनेछन् । दक्षिण कोरियामा वर्षेनी हुने बुसान फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा छानिने पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको ‘ऐना झ्यालको पुतली’ले ठूलो फेस्टिभलमा पहिलो अवार्ड जितेको हो । ढाकामा आइसोलेसनमा रहेका निर्देशक सुजित बिडारीले इकागजसँग कुरा गर्दा महामारीका कारण फिल्म रिलिज गर्न नपाइरहेको अवस्थामा यो अवार्डले धाप मारेको महसुस गरेको प्रतिक्रिया दिए ।
‘बुसानपछि नै हामी फिल्म रिलिज गर्ने तयारीमा थियौँ तर महामारीले रोकेको रोकै छ । यस्तो अवस्थामा फिल्म पुरस्कृत हुँदा पर्खाइको फल मीठै हुन्छ भन्ने अनुभूति भएको छ,’ उनले भने । उनले नेपाल फर्किएपछि महामारीको अवस्था हेरेर प्रदर्शन बारे छलफल गर्ने जानकारी गराए । यो फिल्मले पितृसत्तात्मक परिवारमा हुर्किएका दिदीभाइको स्नेहको कथा प्रस्तुत छ ।
यसैगरी किरण पोखरेलको ‘पुतलीको सपना’ले ढाकाको स्क्रिप्ट ल्याबमा प्रथम पुरस्कार जित्नुअघि युरोपका केही ल्याबमा पनि छनोट भएको थियो । ‘पुतलीको सपना’ आफ्नो लैंगिक परिचयका लागि आफैंभित्र संघर्ष गर्दागर्दै तत्कालिन छापामार युद्धमा होमिएकी नेपालको पहाडी भेगको किशोरीको कथा हो ।
फिल्म स्टडिजमा स्नातक गरेका लेखक तथा निर्देशक किरण पोखरेलले यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न फिल्म, डकुमेन्ट्री, रियालिटी सो लगायतमा लेखन, निर्देशन तथा निर्माण गरिसकेका छन् ।
उनको सर्ट फिल्म ‘मानुषी’ले ’एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल’ २०१३ मा उत्कृष्ट फिल्म, त्यस्तै अर्को सर्ट फिल्म ‘विङ्स’ले कान्स इन्टरनेसनल फिल्म फेस्टिभलमा वितरण गरिएको नेस्प्रेस्सो ट्यालेन्ट २०१८ मा उत्कृष्ट फिल्मको पुरस्कार पाएको थियो । ‘पुतलीको सपना’लाई सुशान्त श्रेष्ठले निर्माण गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया