सिनेमा

कोरोनाका कारण दुई युनिट बनाएर छायांकन गर्दै ‘लाखे’

इकागज |
माघ १०, २०७८ सोमवार १५:२९ बजे

काठमाडौँ - कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरेपनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाको मापदण्ड पालना गर्दै फिल्म छायांकन गर्न सकिने विकास बोर्डले जनाएको छ ।

यही मापदण्डको फाइदा लिँदै फिल्म ‘लाखे’ले दुई युनिट बनाएर फिल्मको छायांकन गरिरहेको छ । निर्देशक सम्राट बस्नेतले महामारीको अवस्था र स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै सुटिङमा दुई युनिट प्रयोग गरिरहेको जानकारी गराएका छन् ।  


कोरोनाको तेस्रो लहरको हल्लासँगै लगानीमा जोखिम बढेको भन्दै केही फिल्मले आफ्नो छायांकन स्थगित गरेका छन् ।  तर कलाकारको भिड भएको फिल्म ‘लाखे’ले भने महामारीमा पनि धमाधम छायांकन गरिरहेको छ । यो फिल्मको गत पुसको अन्त्यबाट छायांकन सुरु भएको हो । भव्य शुभ–मर्हुत गर्दै छायांकन सुरु गर्ने तयारीमा गरेको फिल्मको कोरोनाको कारण सुटुक्क छायांकन सुरु गरिएको निर्देशक सम्राट बस्नेतले बताए ।

‘भव्य शुभ–मर्हुत गरेर फिल्म फ्लोरमा लाने हाम्रो तयारी थियो । तर कोरोनाको बढ्दो संक्रमणले गर्दा सरकारले २५ जना बढी एकै स्थानमा सहभागी हुन रोक लगायो’ निर्देशक बस्नेतले भने ‘कोरोनाको कारण हामीले सीमित कलाकारको उपस्थितिमा मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गर्यौँ ।

’ यो फिल्मको प्रारम्भिक बजेट ५ करोड हो । तर यसरी दुई युनिट गरेर काम गर्दा बजेट बढ्ने अनुमान गरिएको छ । निर्माता हरिमल्ल ठकुरीले बजेट बढे पनि कलाकार र प्राविधिक सुरक्षित हुनुपर्ने महसुस गर्दै बजेटको पर्वाह नगरी सुटिङ गरिरहेको जनाए । ‘हामीले ५ करोड माथि बजेटमा फिल्म निर्माण गर्न लागेका हौ । दुई युनिट गर्दा ५ को ठाउँमा ६ पुग्ला’ निर्माता हरिले थपे ‘यसले कलाकारको सुरक्षा पनि गर्छ नि ।’

‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनिरहेको फिल्म हो ।  ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीे प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्माण युनिटले फिल्म छायांकनका फोटो भने अहिले बाहिर ल्याएको छैन । फिल्ममा रहेको कलाकारको लुक बाहिरिने डरले तस्बिर नल्याएको हो । फिल्मका लागि सबै कलाकारको लुक्समा निकै ध्यान दिइएको छ । 
 


Author

थप समाचार
x