सिनेमा

‘छक्का पञ्जा’ टिमबाट जितु नेपाल ‘आउट’

सामीप्यराज तिमल्सेना |
कात्तिक १६, २०७७ आइतवार १४:१३ बजे

काठमाडौं : चर्चित फिल्म शृंखला ‘छक्का पञ्जा’ समूहबाट अभिनेता जितु नेपाल अलग भएका छन् । ‘६ एकान ६’देखि फिल्म निर्माणमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे (माग्ने बूढा) आदिसँग सहकार्य गर्दै आएका जितुले महामारीकै बीच यो समूह त्यागेका छन्  । जितुले इकागजसँगको कुराकानीमा घुमाउरो गरी बाटो अलग भएको स्वीकार गरे । 

जितुले सञ्चालन गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौलाको हठात बहिर्गमनसँगै जितु र बाँकी समूहबीच मनुमटाव गहिरो भएको आशंका गरिएको थियो । जितुले दीपाश्रीलाई कार्यक्रमको अध्यक्षका रूपमा हटाउने मात्र होइन, हटाउने खबर अन्तिम समयमा मात्र दिएको भन्दै दीपाश्री निरौला रुष्ट भएको चर्चा थियो । यही खबरबीच जितुले केदार घिमिरे ‘माग्ने बुढा’को युट्युब च्यानलमा राख्दै आएको कार्यक्रम पनि आफ्नै च्यानलबाट राख्न थालेका थिए । 
जितुले माथिका कुनै पनि तथ्यमा सत्यता नभएको जिकिर गरे । उनले दीपाश्री निरौलालाई सबै कुरा अवगत गराएर नै अध्यक्षका रूपमा करिष्मा मानन्धरलाई निम्त्याएको दाबी गरे ।


‘पहिलो कुरा त म यो कार्यक्रमको सर्वेसर्वा होइन, म प्रस्तोता मात्र हुँ । कि इन्टरटेनमेन्टले यो कार्यक्रम निर्माण गर्छ, धेरै कुरामा उहाँहरूको पनि कुरा मैले सुन्नुपर्छ,’ जितुले भने, ‘दोस्रो सिजनको सुटिङ गर्नुअघि दीपा दिदीलाई सबै कुरा जानकारी गराएको हो । हामीले सहमतिमा करिष्मा दिदीलाई भित्र्याएका हौँ ।’

उनले केदार घिमिरेको च्यानल छाडेर आफ्नो च्यानलमा कार्यक्रम राख्नमा पनि कि इन्टरटेनमेन्टकै हात रहेको बताए ।  ‘उहाँहरूले कि तपाईं राख्नुस् कि हामी राख्छौ भन्ने कुरा गरेपछि त्यो पनि सहमतिमै राखिएको हो । केदारसँग मनमुटाव भएर अथवा अरु कुनै कारणले होइन ।’ 

दोस्रो सिजन प्रसारणसँगै कार्यक्रममा राजेन्द्र नेपाली ‘लट्टे’को अनुपस्थितिले पनि मनमुटावको शंकालाई बल पु¥याएको थियो । किनकि लट्टे केदार घिमिरे निकट मानिन्छन् । जितुले यो आरोपमा पनि सत्यता नरहेको बताए । ‘हामीले जतिबेला सुटिङ सुरु गर्‍यौँ त्यति बेला लट्टे पोखरामा थिए । कोभिडको डर छँदै थियो । परिवारले पनि नजा भनेपछि उनी आउन सकेनन् । अब दुई–चार एपिसोड लगत्तै उनलाई देख्न सक्नुहुनेछ,’ जितुले भने । 

यता मुन्द्रेको कमेडी क्लबले थुप्रै प्रश्न जन्माइरहेका बेला ‘छक्का पञ्जा’ बनाइरहेको आमा सरस्वती मुभिजले अब दीपकराज गिरीलाई सोलो कलाकार लिएर फिल्म बनाउने समाचार आएको थियो । ‘यसको मतलब के अब छक्का पञ्जा सिरिजमा जितुको यात्रा टुंगिएको हो ?’ इकागजको यो प्रश्नमा जितुले यो कुरा भने दीपक–दीपाको निर्णयमा निर्भर रहने बताए । ‘हाम्रो अध्यक्ष वहाँ नै हो । अब यो विषयमा लकडाउनका कारण कुरा हुन पाएको छैन,’ जितुले भने, ‘दसैँमा म उहाँको घरमा बुबासँग टीका लगाउन जान्थेँ । उहाँ मेरो घर आउनुहुन्थ्यो । यो साल कोभिडका कारण आउजाउ भएन । के हुन्छ, यसै भन्न सकिन्न ।’ 

जितुले सहकार्यको सम्भावना व्यक्त गरे पनि दीपक–दीपा समूहले भने जितुलाई टिमबाट अलग गरिसकेको स्रोत बताउँछ । दसैँअघि भएको ‘छ माया छपक्कै’ टिमको भेटघाटमा टोलीका सबै टाउकै भेला हुँदा जितु नेपाल सो भेटघाटमा जानाजान नबोलाइएको स्रोत बताउँछ । दसैँअघि बानेश्वरमा भएको यही भेटमा फिल्मका निर्माता रोहित अधिकारीले केदार घिमिरेलाई नयाँ आइफोन गिफ्ट गरेका थिए । 

छक्का पञ्जा समूहबाट चोइटिनेमा जितु कान्छा सदस्य हुन् । हास्य कलाकार मिलेर फिल्म बनाउने उद्देश्यसहित सुरु भएको समूहबाट सबैभन्दा पहिले धुर्मुस–सुन्तली (सीताराम कट्टेल– कुञ्जना घिमिरे) छुट्टिएका थिए ।

समूहमा निर्णायक मत राख्ने अभिनेता दीपकराज गिरीले ‘छक्का पञ्जा’मा जितु नेपाल रहने वा नरहने भन्ने कुरामा कुनै निर्णय भइनसकेको बताए । तर, उनले कमसेकम नयाँ शृंखलमा जितु नरहने संकेत गरे । ‘विधिवत रूपमा हामीले कुनै निर्णय गरेका छैनौँ तर जसरी मुन्द्रेको कमेडी क्लब नयाँ सेटअपमा आएको छ त्यसैगरि छक्का पञ्जा पनि नयाँ स्वरुपमा आउन सक्छ,’ इकागजसँगको कुराकानीमा दीपकले भने । उनले नयाँ अवस्थामा कम बजेटमा चलचित्र बनाउनुपर्ने आवश्यकताले पनि केही कलाकार यताउति हुनसक्ने बताए ।

‘हरेक फिल्ममा एकै कलाकार हुँदा फिल्मको लुक एउटै भयो । अब अहिलेको अवस्था मल्टिस्टारर फिल्म बनाउने खालको पनि छैन’ दीपकले भने, ‘यही कारण कास्टिङमा हेरफेर हुन सक्छ । तर, यसको मतलब जितु नेपालसँग कहिलै सहकार्य नै नगर्ने भन्ने चाहिँ होइन । एउटा दुइटामा नगर्न सक्छौँ ।’ दीपकले पनि जितुसँग व्यावसायिक मात्र नभएर पारिवारिक सम्बन्ध पनि भएकाले यो विषयमा धेरै नबोल्ने बताए । 

जितु र दीपक दुवैले सिधा सिधा मनभेदको कुरा नसकारे पनि दुवै निकटस्थ स्रोत कम्तीमा केही समयका लागि जितु र दीपक–दीपा समूहबीच सहकार्यको सम्भावना नभएको बताउँछ ।  

‘भविष्यमा के हुन्छ भन्न सकिन्न । तर, अहिलेलाई आर्थिकदेखि अन्य धेरै कुरालाई लिएर दुवैबीच गहिरो मनभेद छ । मिल्ने सम्भावना देखिन्न,’ स्रोत भन्छ ।
छक्का पञ्जा समूहबाट चोइटिनेमा जितु कान्छा सदस्य हुन् । हास्य कलाकार मिलेर फिल्म बनाउने उद्देश्यसहित सुरु भएको समूहबाट सबैभन्दा पहिले धुर्मुस–सुन्तली (सीताराम कट्टेल– कुञ्जना घिमिरे) छुट्टिएका थिए ।

‘छ एकान ६’ र ‘वडा नं ६’ गरी दुई फिल्ममा सहकार्य गरेका धुर्मुस–सुन्तलीले तेस्रो फिल्म ‘छक्का पञ्जा’मा साथ छाडेका थिए । ‘तीतो सत्य’देखि सहकार्य गर्दै आएका निर्मल शर्मा पनि ‘छक्का पञ्जा’पछि दीपक–दीपाको समूहबाट अलग भएका थिए । पहिलो फिल्मदेखि नै समूहको अभिन्न अंग रहँदै आएका शिवहरि पौडेलले पनि ‘छ माया छपक्कै’देखि ‘छक्का पञ्जा’ समूहको साथ छाडेर किरण केसीको समूहतर्फ लागेका छन् । केसी निर्माता र शिवहरि पौडेल निर्देशक रहेको ‘लक्का जवान’ बनेर प्रदर्शनका लागि तयार छ ।  

‘छक्का पञ्जा’ सामूहिक फिल्म निर्माणको सबैभन्दा सफल अभ्यास मानिएको थियो । यो समूहले निर्माण गरेका सबै फिल्मले व्यावसायिक सफलता हात पारेका थिए । तर, यसका सदस्य एकपछि अर्को गरी छुट्न थालेपछि एउटा सफल अभ्यास फेरि इतिहास बन्ने हो कि भन्ने चिन्ता सुरु भएको छ । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x