सिनेमा

कोरोना संक्रमणपछि उपचाररत मनोजलाई मीनाको मार्मिक प्रेमपत्र

इकागज |
कात्तिक २१, २०७७ शुक्रबार १८:२७ बजे

धेरैका प्रिय कलाकार मनोज गजुरेल बिरामी भएको खबरले उनका शुभचिन्तक पिरिएका छन् । उनलाई कोभिड संक्रमणले अलि च्यापेर सघन उपचार कक्षमा उपचार भइरहेको खबर सार्वजनिक भएलगत्तै उनको स्वास्थ्यलाभको कामना गर्दै लेखिएका पोस्टले सामाजिक सञ्जाल रंगिएका छन् ।

तर, यो खबरले मनोजकी पूर्वपत्नी मीना ढकाललाई पनि कम पिरोलेको छैन । उनले पनि फेसबुकमा लामो स्ट्याटस लेख्दै मनोजको स्वास्थ्य लाभको कामना गरेकी छिन् । उनले पोस्ट गरेको लेखमा उनले लेखकी छिन्,‘जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भए पनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्पराअनुसार तिम्रो सिन्दूरको ऋणी भएकी थिएँ । 


तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँंग मैले जीवनका बीसौँ वर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मीयताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु । केही अपवादलाई बाहिर राखेर र मेरा केही खुसीहरूको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । 

भलै समयले तिम्रो र मेरोबीचमा दूरी ल्यायो होला फेरि पनि मेरा दुई सन्तानको जन्मदाताका रुपमा आज पनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु । आज तिमी आईसीयुमा उपचाररत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भए पनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु । आज महसुस भइरहेछ । 

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम...

Posted by Meenaa Dhakal on Friday, November 6, 2020

म तिम्रो सुस्वास्थ्यका लागि भगवान्सँग प्रार्थना गर्छु । तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन् । तिमी ठिक छौ र त उनीहरू ढुक्क छन, सुरक्षित छन् । छुट्टै भए पनि, टाढै भए पनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्, म यो रियलाइज गरिरहेछु । मेरो प्रार्थना सुन्छन्, भगवानले, तिमी छिट्टै अस्पतालबाट डिस्चार्ज हुनेछौ र बाबु–नानीको सामीप्यमा पुग्नेछौ भन्ने आशामा छु ।

मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होइनौ— मैले बिसौँ तीजका निराहार व्रत बसेकी छु तिम्रा लागि । आज पनि तिम्रो दीर्घायुको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रतिक्षामा छन्..। तिमी र मबीच जस्तासुकै व्यावहारिक बेमेल भए पनि तिम्रो जीवन मेरा लागि महत्वपूर्ण छ । हार नमानिदेऊ । छिट्टै रिकभर भएर घर पुगेको देख्न पाऊँ !

उही तिमीलाई आयुष्मान देख्न चाहने तिम्री पूर्व अर्धाङ्गिनी !


Author

थप समाचार
x