सिनेमा

बक्स अफिस दुरुस्त बनाउन अनुगमनमा विकास बोर्ड तर पूर्व संयोजक नै टेर्दैनन्

सामीप्यराज तिमल्सेना |
बैशाख ५, २०७९ सोमबार १३:४४ बजे

काठमाडौँ - २०७५ सालदेखि लागू भएको सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम ( सीसीएमसी) चल्तीको भाषामा बक्स अफिस भनिने यो प्रणालीलाई फिल्मकर्मीले रामवाणको रुपमा लिएका थिए । यो लागू भएको २०७५ साउन १ गतेका दिन उसबेलाका बोर्ड अध्यक्षदेखि फिल्मकर्मीबीच पनि यसको क्रेडिट लिन सामाजिक सञ्जालमा गरेको तँछाडमछाड हेर्न लायक थियो । तर लागू भएको चार वर्ष हुनलाग्दा पनि विकास बोर्डले यसलाई व्यवस्थित बनाउन सकेको छैन । 

बक्स अफिस लागू भइसकेपछि निर्माताले वितरकले दिएको जे पायो त्यही रिपोर्टमा मात्र भर पर्न नपर्ने अपेक्षा राखेका थिए तर विकास बोर्डमा रहेको बक्स अफिस सिस्टमलाई हलवालाले टेरपुच्छर नलाएपछि निर्माता फेरि वितरककै शरण पर्न बाध्य भएका छन् । 


तर ‘केजीएफ २’ले २४ सै घन्टा सो चलाएर विकास बोर्डको नीति नियमलाई नै चुनैती दिएपछि विकास बोर्ड अनुगमनमा तातिएको छ ।  बोर्डले सदस्य राज कटुवालको संयोजकत्वमा बक्स अफिस अनुगमन समिति बनाएर अनुगमनको कामलाई सक्रिय बनाएको छ । बोर्ड सदस्य तथा बक्स अफिस अनुगमन समितिका सयोजकले राज कटुवालले यो बीचमा काठमाडौँमा धेरै हलमा अनुगमन गरेको जानकारी गराएका छन् । यो क्रम बक्स अफिसमा डाटा नपठाउने हललाई एक पटकलाई चेतावनी दिएको र नमानेमा थप कारबाही गर्ने राजको भनाइ छ । 

‘महामारीका कारण भर्खर भर्खर खुल्न थालेका हललाई व्यवस्थित गर्ने मौका दिऔँ भनेर सरकारले सदासयता राखेका थियो तर उहाँहरूको नियत नै सिस्टम फेल गराउने महसुस भएपछि हामीले अनुगमन तीव्र बनाएका हौँ,’ सदस्य राज कटुवालले भने । राजका अनुसार काठमाडौँका हलले कहिले के समस्या देखाएर त कहिले के समस्या देखाएर बक्स अफिसमा डाटा पठाउने गरेका छैनन् । पठाएका हलले पनि दुई तीन सय टिकट छलेर पठाउने गरेका छन् । 

‘केजीएफ २ लागेको दिनदेखि हाउसफुल छ । तर डाटा पठाउँदा बिग मुभिजले ३ सय टिकट नै बिक्रि नभएको तथ्यांक पठाएको छ । हामीले यसलाई गम्भीर रुपमा लिएका छौँ,’ राजले भने । हलले यति मात्र होइन म्यानुअल्ली टिकट पनि बेचिरहेका छन् । बक्स अफिसको प्रणालीअनुसार नेपाली वा हिन्दी फिल्मको टिकट बिक्रि गर्नुअघि सेन्सर गरेर मात्र कोड लिनुपर्छ । तर हलले हप्ता दस दिनअघि देखि नै टिकट बिक्रि गर्ने गरेका छन् ।

यसरी बेचिएको टिकटको हिसाबकिताब न वितरकले पूरा पाउँछन् न त विकास बोर्डले । यसले हलले हाकाहाकी राज्यको राजस्व पनि छलिरहेका छन् । तर यसलाई नियमन गर्नुपर्ने अपेक्षा राखिएको विकास बोर्डसँग यो सबै कुरा रोक्ने अधिकार छैन । बोर्डसँग हलको लाइसेन्स खारेज गर्ने मात्र अधिकार छ । तर त्यहाँ पुग्नुअघि चेतावनी दिने, जरिवाना गराउने अधिकारका लागि भने बोर्डले राजस्व अनुसन्धान विभागको सहयोग लिनुपर्ने प्रावधान छ । त्यही कारण केही दिनअघि बिग मुभिज ,एफ क्युब र बीएसआरले सरकारी नियमको धज्जी उडाउँदै सो चलाए पनि बोर्डले कारबाहीका लागि राजस्व अनुसन्धान विभाग र जिल्ला प्रशासनलाई बोर्डले पत्राचार गर्नुपरेको थियो ।

पूर्व संयोजकको हल नै टेर्दैन बक्स अफिस
चार वर्षअघि बक्स अफिस लागू गर्दा वितरक तथा निर्माता नरेन्द्र महर्जन बोर्ड सदस्य थिए । यसको एक वर्षपछि काठमाडौँबाहिर बक्स अफिस लागू गर्दा बोर्ड सदस्यको हैसियतले नरेन्द्र महर्जन नै यसको संयोजक थिए । उनले आफैँले व्यवस्थापन हेरिरहेको सर्लाही लालबन्दीको वीणा चलचित्र मन्दिरबाट मोफसलमा पनि बक्स अफिस लागू भएको घोषणा गरिएको थियो । तर अहिले वीणा त के काठमाडौँबाहिरका कुनै पनि हलले बक्स अफिसमा पूरा डाटा पठाउने गरेका छैनन् । तर बक्स अफिसको सफ्ट वेयर भने देशभरका १ सय ९५ हलमा जडान भइसकेको विकास बोर्डको दाबी छ । 

यति मात्र होइन नरेन्द्र महर्जनले दुई हप्ताअघि रञ्जना कम्प्लेक्समा सुरु भएको रञ्जना सिनेप्लेक्सको व्यवस्थापन हेरिरहेका छन् । तेलगुको हिन्दी डब ‘आरआरआर’सँगै यो हलको सुरुवात भएको थियो । तर यो हलले सञ्चालन भएको २० दिन हुन लाग्दा पनि बक्स अफिसमा तथ्यांक पठाएको छैन । राज कटुवालले रञ्जनालाई पनि चेतावनी दिएको र केही दिन भित्र प्रणालीमा नआए कारबाहीको प्रक्रियामा जाने बताए । 

यसैगरि निर्माता संघको सभापतिको दाबेदारी गरिरहेको प्रभुशमशेर राणाले चलाइरहेको वन सिनेमाले पनि बक्स अफिसमा तथ्यांक नपठाइरहेको राज कटुवालले इकागजलाई जानकारी गराएका छन् । राजका अनुसार बानेश्वरमा रहेको हलले यही ५ तारिखदेखि टिकट बिक्रिको डाटा बोर्डलाई पठाएको छैन भने कालिमाटीमा भर्खरैबाट सञ्चालनमा आएको यसैको शाखाले पनि तथ्यांक पठाउने गरेको छैन ।

बक्स अफिसमा तथ्यांक नपठाउँदा बोर्डले हल नवीकरण नगर्ने र इजाजत पत्र खारेज गर्नेसम्मको कारबाही गर्न सक्छ । तर पारदर्शिता सबैको चाहना भएकाले यस्तो कदम चाल्नु अगावै सबैलाई बक्स अफिसमा समेट्ने बोर्डको नीति रहेको राज कटुवालले बताएका छन् । यदि हलले नटेरेमा भने अधिकारको प्रयोग बाध्य हुने उनको कथन थियो । उनले काठमाडौँको अनुगमनका क्रममा हलले केही समय माग गरेकाले समय दिएको र उनीहरूले भनेको समयसम्म पनि काम नगरेमा कारबाही गर्ने चेतावनी दिए । 
यसैगरि काठमाडौँबाहिर पनि अनुगमनका लागि निस्कने राज कटुवालले जानकारी गराएका छन् । सरकारले ५ करोड बढी खर्च गरेर बक्स अफिस जडान गरेको थियो । तर यसले पूर्ण क्षमतामा काम नगर्दा फिल्मकर्मी निराश छन् । 
 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x