स्तम्भ

चाइना जर्नल

तीव्र र अकल्पनीय विकासकाे साक्षी फुतोङ

अजय अलौकिक |
कात्तिक ३०, २०७७ आइतबार १७:१३ बजे

विकास के हो ?  विकास क्रमिक रूपमा हुँदै जाने सकारात्मक प्रक्रिया हो, जुन मानव सभ्यता सँगसँगै बढिरहेको छ । तर विकास सम्बन्धमा हरेक मानिसको परिभाषा फरक पनि हुनसक्छ । तापनि आममानिसको धारणामा भौतिक पूर्वाधार तथा संरचनाको विकास या सर्वसुलभ सुविधा उपलब्ध हुनु नै विकास हो । 
साथै एउटा देश या क्षेत्रको विकासको मापन आर्थिक विकास नै हो । 

यसै गरी अर्थशास्त्रका अनुसार पनि कुल गार्हस्थ उत्पादन र प्रतिव्यक्ति आयमा हुने वृद्धि नै विकास हो । यसर्थ आर्थिक समृद्धि तथा मानिसको उन्नति र प्रगतिको सूचकलाई नै विकास मान्न सकिन्छ । यसरी देश र जनताको आर्थिक प्रगतिमा विशाल फड्को मार्दै गरेको एउटा देश चीन हो । 


यस वर्ष महामारीका कारण विश्वका विकासशील देशहरूको आर्थिक विकास उँधो गतिमा रहे तापनि चीनको आर्थिक गतिले सही दिशा समातिसकेको छ । गरिबी निवारणमा विश्वलाई आश्चर्यमा नै पारेको चीनले आर्थिक, प्राविधिक क्षेत्रमा पनि असाधारण रूपमा प्रगति गरिरहेको छ । चीनको यस किसिमको सफलतामा सुधार तथा खुलापनको नीतिले मुख्य भूमिका खेलेको छ ।

सन् १९७८ देखि अपनाउँदै आएको सुधार तथा खुलापन नीतिले चीनलाई यस्तो सफलता हासिल गर्न सहयोग गरेको देखिन्छ । यसैबीच चीनले गत अक्टुबरमा शनचन विशेष आर्थिक क्षेत्र स्थापनाको ४०औं वार्षिकोत्सव मनाएको छ । साथै चीनले सन् २०१३ देखि स्वतन्त्र व्यापार क्षेत्र स्थापनाको अवधारणा पनि लागू गर्दैआएको छ । पहिलो पटक साङहाईमा स्थापना गरेपछि हालसम्म चीनभरि यस्ता स्वतन्त्र व्यापार क्षेत्रहरूको संख्या २१ वटा पुगिसकेका छन् ।

सन् १९९० को ६ अर्ब दुई करोड ४० लाख चिनियाँ युआनको कुल गार्हस्थ उत्पादन (जीडिपी)बाट सन् २०१९ मा दुई सय एघार गुणाले वृद्धि भई १२ खर्ब ७३ अर्ब ४० करोड युआन पुगेको छ । 

यस बाहेक चीनले विभिन्न क्षेत्रहरूको विकासको अवधारणासँगै विकास क्षेत्रहरू पनि स्थापना गरेको छ र यस्तै एउटा गर्विलो गाथा बोकेको विकास क्षेत्रको नाम साङहाई सहरको फुतोङ । जुन साङहाईको नयाँ विकास क्षेत्र हो । साङहाईको आधुनिकीकरणको प्रतीक बनेको यो फुतोङ विकास क्षेत्र मुख्य गरी चीनको सहरी विकासमा केन्द्रित रहेर सन् १९९० देखि सुरु गरिएको हो । साङहाई सहरको पूर्वमा १२ सय १० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको साथै विश्वकै सबैभन्दा व्यस्त बन्दरगाहमध्येको एउटा रहेको यो क्षेत्रले हालै (नोभेम्बर १२) विकास तथा खुलापनको ३०औं वार्षिकोत्सव मनाएको छ ।

सन् १९९० मा चीनले औपचारिक रूपमा फुतोङको विकास तथा खुलापनको घोषणा गरेको थियो । हाल ३० वर्षपछि यो क्षेत्र असाधारण रूपमा परिवर्तन भएको छ । सन् १९९० को ६ अर्ब दुई करोड ४० लाख चिनियाँ युआनको कुल गार्हस्थ उत्पादन (जीडिपी)बाट सन् २०१९ मा दुई सय एघार गुणाले वृद्धि भई १२ खर्ब ७३ अर्ब ४० करोड युआन पुगेको छ । यसरी भएको जीडीपी वृद्धिले क्षेत्र, जनता र देशको समग्र विकासमा नै ठूलो टेवा पुग्नेछ ।

यो फुतोङ क्षेत्रले चीनको कुल क्षेत्रफलको आठ हजार भागमा एक भाग मात्र ओगटेको छ तर यहाँको जीडीपी चीनको असी भागको अनुपातमा एक भाग रहेको छ ।यो क्षेत्रले साङहाईको जीडीपीको मात्रै तीन भागमा एक भाग ओगटेको छ । यो फुतोङ विकास क्षेत्र एउटा धान खेतबाट अग्ला गगनचुम्बी भवनहरूको सहर र विश्वमै प्रविधि तथा आर्थिक क्षेत्रको नमुना क्षेत्र बनेको छ ।

नेपालमा आर्थिक विकासभन्दा राजनीतिक विकासका चरण धेरै भएका छन् । साथै आर्थिक विकासको नाममा असङ्गत विकास भइरहेका छन्, विसङ्गति छन् ।

ह्वाङफु नदीको पूर्वी किनारमा अवस्थित यो क्षेत्रमा विश्वकै दोस्रो सबैभन्दा अग्लो भवन साङहाई टावर उभिएको छ । योसँगै यहाँ हाल दुई सय ८५ वटा गगनचुम्बी भवन छन् । यी भवनमध्येका ९७ वटा भवनले वार्षिक रूपमा १० करोड चिनियाँ युआन कर तिर्ने गरेका छन् । यी भवन सबै एउटा ल्यान्डमार्कका रूपमा रहेका छन् । हाल, यहाँ हजारभन्दा बढी देशीविदेशी वित्तीय संस्था छन् भने ३४० बढी बहुर्राष्ट्रिय संस्थाहरूको क्षेत्रीय मुख्यालय छ । 

एक हजार ९८ वटा वाणिज्य बैङ्क तथा सेक्युरिटीज कम्पनीहरूका साथै दुई हजार वटा वित्तीय सेवा प्रदायकहरू फुतोङमा दर्ता छन् । यो विश्वकै एउटा वित्तीय तथा आर्थिक केन्द्र हो । विज्ञान तथा उच्च प्रविधि विकासको अग्रणी क्षेत्र हो । यसरी धान खेत वा खेतीयोग्य जमिनलाई पनि व्यवस्थित रूपमा विकास गर्ने हो भने धानमात्रै होइन, धन र समृद्धि मिल्नसक्छ भन्ने विश्वास यो फुतोङको विकासले देखाएको छ । 

फुतोङमा विकासको यस अवधारणा लागू गरेको लगभग उही समयमा नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको थियो । सन् १९९० मा यहाँ विकास क्षेत्रको अवधारणा लागू हुँदाखेरि नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलन भइरहेको थियो । यता आर्थिक विकासका चरण र आर्थिक विकासका योजना बनिरहँदा र कार्यान्वयन हुँदै गर्दा नेपालमा राजनीतिक घटनाक्रममा मात्रै धेरै पटक परिवर्तन भएका छन् । 

नेपालमा आर्थिक विकासभन्दा राजनीतिक विकासका चरण धेरै भएका छन् । साथै आर्थिक विकासको नाममा असङ्गत विकास भइरहेका छन्, विसङ्गति छन् । धान खेत मासिएका छन् तर फुतोङको नयाँ क्षेत्रसरह धन र समृद्धि ल्याउने किसिमको दीर्घकालीन योजना नेपालमा कार्यान्वयन भएको छैन । 

फुतोङले तीस वर्षअघि ह्वाङफु नदीको पारिपट्टिको फुसी क्षेत्रका अग्ला भवनहरू मात्र हेरेका थिए तर तीन दशकको समयमा फुसी र त्यहाँका भवनहरू फुतोङको विकासको साक्षी बनेका छन् । यसै पहिलाको खेतबाट अहिलेको अकल्पनीय विकास गरेको फुतोङले विकास र खुलापनको ३० औँ वार्षिकोत्सव समारोह यही नोभेम्बर १२ तारिखमा मनाएको छ ।

साङहाईमा आयोजित उक्त समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्दै तीस वर्षयता फुतोङले उल्लेखनीय उपलब्धि प्राप्त गरी आर्थिक क्षेत्रमा प्रगतिशील विकास गर्नुका साथै जनताको जीवनस्तर निकै उकासेको बताए । साथै नयाँ विकास प्रारुपको निर्माण गर्दै जाने बताउँदै आगामी दिनहरूमा अझै उच्चस्तरीय खुलापनलाई अघि बढाउँदै अन्तर्राष्ट्रिय सहकार्य र प्रतिस्पर्धा सम्बन्धी नयाँ श्रेष्ठतालाई प्रवर्धन गर्दै जाने पनि औंल्याएका छन् ।

विश्वसँग सहकार्य र प्रतिस्पर्धा गर्दै फुतोङ आन्तरिक र अन्तर्राष्ट्रिय बजार जोड्ने एउटा रणनीतिक पुल बन्दै चीनको सुधार तथा खुलापनलाई पनि अघि बढाउनेछ ।

यस वर्ष ३०औं वार्षिकोत्सव मनाएको फुतोङले अर्को ३० वर्षमा फुतोङसँगै साङहाई र चीनको मुहारलाई कस्तो बनाउने होला? फुतोङको विकास योजना अनुसार, सन् २०२५ सम्ममा प्रति एक औद्योगिक समूहको एक सय बिलियन युआनभन्दा बढी मूल्य भ्यालु पर्ने यस्ता ६ वटा औद्योगिक समूहको स्थापना गरिनेछ ।जुन चिप निर्माण, नवीन औषधि, उड्ड्यन, नव ऊर्जा सवारी, बिग डेटा र स्मार्टसम्बन्धी उत्पादनमा केन्द्रित रहनेछ । 

फुतोङले चीनको घरेलु बजारमा त महत्त्वपूर्ण भूमिका खेलेकै छ साथै याङच नदी डेल्टा क्षेत्र जसलाई सन् २०१८ मा चीनको राष्ट्रिय रणनीतिक स्तरमा राखिएको थियो, यसको विकासमा पनि फुतोङको विकास अनुभव महत्त्वपूर्ण रहनेछ । फुतोङको विकास यो क्षेत्रसँग या चीनसँग मात्रै सम्बन्धित रहनेछैन ।

चीनले सन् २०१८ देखि साङहाईमा अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना गर्दैआएको छ, यसबाट पनि फुतोङ, चीनसँगै विश्वले अवसर पाएका छन् । यस वर्ष देखिएको कोभिड १९ महामारीबीच पनि फुतोङले अघिल्लो ६ महिनामा ४.६९ बिलियन डलरको विदेशी लगानी भित्र्याउन सफल भएको थियो । यसबाहेक, पछिल्लो समय चीनले अपनाएको दोहोरो परिसंचरण रणनीतिमा पनि फुतोङले महत्वपूर्ण भूमिका खेल्नेछ ।

विश्वसँग सहकार्य र प्रतिस्पर्धा गर्दै फुतोङ आन्तरिक र अन्तर्राष्ट्रिय बजार जोड्ने एउटा रणनीतिक पुल बन्दै चीनको सुधार तथा खुलापनलाई पनि अघि बढाउनेछ । साथै राष्ट्रपति सीले अबको तीस वर्ष अर्थात् २१औं शताब्दीको मध्य चीनलाई महान् आधुनिक समाजवादी राष्ट्र बनाउने लक्ष्यमा पनि फुतोङले ठूलो भूमिका खेल्ने विश्वास राखेका छन् । 

फुतोङलाई चिनियाँ जनताको विश्वास, मार्ग, सिद्धान्त तथा चिनियाँ विशेषताहरूसहितको समाजवादको संस्कृतिप्रति केन्द्रित रहने एक उदाहरण बन्नका लागि प्रयास गर्न पनि सीले जोड दिएका छन् । आउने तीस वर्षमा फुतोङ क्षेत्रको स्वरूप कस्तो हुने हो, त्यो त समयले बताउनेछ । तर अवश्य पनि मानिसको कल्पनाभन्दा धेरै परको विकास देख्न पाइनेछ ।

एउटा चिनियाँ उखान छ, बिस्तारै बढ्दा आत्तिनुपर्दैन तर एउटै ठाउँमा अचल छ भने डराउनुपर्छ । सायद फुतोङको विकासमा यो उखान काम छैन । फुतोङ तीव्र गतिमा दौडिरहेको छ र चीनसहित सारा विश्वलाई उच्चप्रविधि, नवीनतम प्रविधिसहित आर्थिक र सामाजिक क्षेत्रमा नवीन खोज, नवीन उपलब्धि र नवीन देन दिन खटिरहेको छ । उच्च गुणस्तरीय, उच्च प्रविधि तथा नवीन आविष्कार र दिगो विकासका साथै तीव्र विकास र अकल्पनीय विकासको साक्षी फुतोङ विकास क्षेत्रको विकास पो विकास ।


Author

थप समाचार
x