नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन

कांग्रेसको मञ्चमा ओली, दाहाल र नेपाल : कसैले कसैको नाम उच्चारण गरेनन्, घोचपेच गर्न छोडेनन्

सन्तोष अधिकारी |
मंसिर २४, २०७८ शुक्रबार २०:२६ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजबाट सुरु भएको छ । आज भएको उद्घाटन सत्रमा नेपाली राजनीतिक दलका शीर्ष नेतासँगै छिमेकी देश भारतका नेता पनि सहभागी भए र शुभकामना दिए । 

भारतीय जनता पार्टीका हर्ष बर्धनले शुभकामना मन्तव्यको सुरुमै भारतीय पूर्वप्रधानमन्त्रीको भनाइ सम्झँदै भने, ‘वाजपेयी भन्नुहुन्थ्यो राजनीतिका लागि ठूलो हृदय हुनुपर्छ । एउटा पार्टीको महाधिवेशनमा फरक–फरक विचारधाराका पार्टी प्रमुख र पूर्वप्रधानमन्त्रीहरू उपस्थित भएर उदाहरणीय प्रेरणा विश्वमा राजनीति गर्नेहरूलाई दिनुभएको छ ।’ 


उनले अर्काे पार्टीको महाधिवेशनमा यति धेरै पूर्वप्रधानमन्त्रीहरू पहिलो पटक देखेको बताए । उनले देखेको पूर्वप्रधानमन्त्रीहरू थिए, केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् । यी तीनै पूर्वप्रधानमन्त्रीहरू कम्युनिष्ट नेता पनि हुन् ।

पछिल्लो समय नेकपा एमालेका अध्यक्षसमेत रहेका केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका माधव नेपालको सम्बन्ध पानी बाराबार छ भन्दा पनि फरक पर्दैन  । 

एक समय यी तीनै नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता थिए । २०७७ फागुनमा नेकपा विभाजन भएपछि पूर्व एमाले र पूर्व माओवादी केन्द्र पुनः आफ्नै ठाउँमा फर्किए । पार्टी विभाजन हुँदा केही माओवादी नेता एमाले भने, एमाले नेता माओवादी । नेकपा विभाजन हुँदा पनि एकै मञ्चमा कार्यक्रममा सहभागी भएका उनीहरू नेकपा एमाले विभाजनपछि भने पहिलो पटक आज एकै मञ्चमा भेटिए । 

नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालले छुट्टै दलको नेतृत्व गरिरहेका छन् । एमाले विभाजन भएको ६ महिनापछि ओली र नेपालले एकै मञ्चबाट भाषण गरेका हुन् । ओली र दाहाल त झण्डै एक वर्षपछि एकै कार्यक्रममा भेट भएका हुन् । यो चाँजोपाँजो भने नेपाली कांग्रेसले जुटाइदियो । 

बाहिरका कार्यक्रममा उनीहरू एकअर्काविरुद्ध जसरी खनिन्छन् आज पनि त्यसै गरे । एमाले अध्यक्ष ओली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको बीचमा बसे भने, दाहाल र नेपाल देउवाको दायाँ तिर थिए । 

एमालेले पनि गत मंसिर १० गतेमात्रै आफ्नो १०औँ महाधिवेशन गरेको थियो । त्यहाँ उसले एमाले विभाजन गरेर जाने माधवकुमार नेपाललाई त निमन्त्रणा नै गरेन । निम्तो पाएका माओवादी अध्यक्ष दाहालले पनि आफू नगएर प्रतिनिधिको रुपमा नेता लिलामणि पोखरेललाई पठाए ।  

यहाँ रोचक प्रसंग के भयो भने आजको कार्यक्रममा तीनै जनाले एक अर्काको चर्काे आलोचना गरिरहँदा कसैले पनि कसैको नाम उच्चारण गरेनन् । तीन पूर्वप्रधानमन्त्रीहरूमध्ये सबैभन्दा पहिले सम्बोधन गर्न माधवकुमार नेपाल आए । उनले कार्यक्रममा सहभागी शीर्ष नेताहरूलाई सम्बोधन गर्दा ओलीको नाम यसरी छले, ‘आजको यस १४ औं राष्ट्रिय महाधिवेशनका सभापति सम्माननीय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू । मञ्चमा आसिन नेपालका सबै प्रमुख राजनीतिक दलहरूका शीर्ष नेता साथीहरू ....।’  

नेपाल पछि सम्बोधनका लागि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निम्त्याए माओवादी केन्द्रका अध्यक्ष दाहाललाई । दाहालले पनि माधवकुमार नेपालकै जस्तो जुक्ति लगाए र केपी ओलीको नाम उल्लेख गरेनन् । उनले सम्बोधनको सुरुवातमै भने, ‘नेपाली कांग्रेसको यो भव्य र आकर्षक १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रका सभापति तथा नेपाली कांग्रेसका सभापति र सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू । पूर्व प्रधानमन्त्रीज्यूहरू, नेपाली कांग्रेसका सबै नेता साथीहरू । विभिन्न राजनीतिक दलका नेता साथीहरू र यो उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण नेपाली कांग्रेसका प्रतिनिधि पर्यवेक्षक र अन्य उपस्थित महानुभावहरू . . . ।’

माधव नेपाल र पुष्पकमल दाहालले ओलीको नाम नै उल्लेख नगरी घोचपेच गर्न भने भ्याए । यी दुईको सम्बोधन पछि पालो आयो ओलीको । ओलीले पनि दुई नेताले अपाएकै जुक्ति अपनाए । ओलीले भने, ‘ यस कार्यक्रममा अध्यक्ष एवम् नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री र मेरा पुराना मित्र    शेरबहादुर देउवाज्यू । विभिन्न दलबाट नेपाली कांग्रेसको यस १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिन आउनु भएका नेताज्यूहरू । नेपाली कांग्रेसका नेताज्यूहरू। भर्खरै प्रस्थान गर्नु भएका विदेशी पाहुनाहरू . . . ।’ 

भाषण गर्दा नाम उच्चारण नगरे पनि दाहाल र ओलीबीच मञ्चमा मुस्कानका साथ कुराकानी भने भएको थियो । तर, ओली र नेपालबीच आज पनि बातचित भएन ।    
 

 

 
 
 
 

 
 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x