नेपाली कांग्रेस १४औँ महाधिवेशन

पौडेललाई फकाउन जाँदै संस्थापनइतरका नेता, सामूहिक विज्ञप्तिको तयारी हुँदै

इकागज |
मंसिर २८, २०७८ मंगलबार १०:३ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा तटस्थ बसेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन नेताहरु जाँदैछन् । सभापतिमा उम्मेदवारहरुको ५१ प्रतिशत नपुगेर पुनः मतदान हुने भएपछि नेताहरु पाैडेल भेट्न जान लागेका हुन् । दोस्रो चरणको मतदानमा संस्थापनइतर समूहका डा. शेखर कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुने भएको छ । कोइरालालाई सहयोग गर्न भन्दै नेताहरु पौडेल फकाउन जान लागेकाे बताइएकाे छ। 

पौडेललाई भेट्न जान लागेका नेताहरुले पाँचवर्षसम्म समूहको नेतृत्व गरेर अन्तिममा असहयोग गरेर धोका दिन खोजेको हो कि के हो भन्दै सम्झाउने बताएका छन् । उनीहरुले शेरबहादुरविरुद्ध लड्ने अन्तिम समयमा पौडेलले सहयोग नगरे पार्टी कहिल्यै रुपान्तरण नहुने बताए । 


पौडेल भेट्न जान लागेका एक नेताले भने, 'अब हामी अन्तिमपटक सहयोगका लागि जान्छौं, उहाँ आफ्नो स्वार्थको लागि राजनीति गर्नुहुन्छ कि समूहको लागि थाहा हुनेछ । उहाँलाई फकाएर सामूहिक विज्ञप्ति जारी गर्ने हाम्रो तयारी छ।' त्यस्तै लागि शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान भेट्न पनि केही नेताहरु गएका छन् । पहिलो चरणमा सभापतिका उम्मेदवार भएका निधि र सिंहले कसलाई सहयोग गर्छ उसको पल्लाभारी हुने निश्चित छ । 

पाँच वर्षसम्म संस्थापनइतर समूहको नेतृत्व गरेका पौडेल पछिल्लो समय सभापतिमा संस्थापनइतरबाटै दुई जना हुने भए भन्दै निस्क्रिय बसेका थिए । उनले मतदानसमेत कसैलाई नगर्ने र कार्यकर्तालाई स्वविवेक प्रयोग गर्न भन्दै वक्तव्य जारी गरेका थिए । 


Author

थप समाचार
x