नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस उपसभापति धनराज गुरुङको प्रोफाइल

‘खाल्टेको ‘आच्युँ’ कांग्रेसको शिखर चुम्न लागेछ !’

अनिष भट्टराई |
पुस १, २०७८ बिहीबार १६:२७ बजे

 काठमाडौँ - पञ्चायतमा राजकाज मुद्दामा तीन वर्ष जेल सजाय कटाएपछि स्याङ्जाका खगेन्द्रराज रेग्मी पढाउनका लागि स्थानीय दहधुम माविमा खटाइए । उनी तत्कालिन खाल्टे शीतल चौपारी गाउँपालिकाको दहधुम माविमा विज्ञान र गणित पढाउन पठाइएका थिए । 

कांग्रेसमा आस्थावान् उनलाई पार्टीले छुट्टै जिम्मेवारी पनि दिएको थियो । पार्टीमा सदस्यता थप्ने, पार्टीको प्रचारप्रसार गर्ने जिम्मा उनको काँधमा थियो । उनले त्यतिबेला नेपाल विद्यार्थी संघ (नेविसंघ)मा प्रवेश गराएका गौरव गर्न लायक नेता हुन्– धनराज गुरुङ । 


अमरज्योति प्राथमिक विद्यालयमा पढेपछि गुरुङ दहधुममा गएका थिए । जहाँ उनको भेट खगेन्द्रराजसँग भयो । एउटै गाउँका उनीहरू विद्यालय जाँदा, फर्कंदा सँगै हुन्थे । विद्यालयमा पनि खगेन्द्रले कांग्रेसका बारे धनराज र उनका साथीहरुलाई प्रशिक्षण दिन्थें । प्रभावस्वरुप धनराजले ८ कक्षामै नेविसंघको सदस्यता लिए । 

गुरुङ परिवारमा जन्मिएका धनराजको पारिवारिक पृष्ठभूमि लाहुरेहरूको हो । उनका २ दाजुहरू ब्रिटीश र भारतीय लाहुरे थिए । माइला दाजु यमबहादुर भने शिक्षण पेसाबाट अवकाश पाएपछि राजनीतिमा लागे । धनराजलाई भने लाहुरे हुने इच्छा कहिल्यै लागेन । उनी सानैबाट राजनीतितर्फ प्रेरित थिए । 

खगेन्द्रले धनराजलाई कांग्रेस निकट पत्रिकाहरू– राष्ट्र पुकार, नेपाल पुकार तथा सरल राजनीति जस्ता किताब पढ्न दिएको याद ताजै छ । धनराज पनि त्यस्ता प्रकाशनहरु खोजी खोजी पढ्थे । कक्षागत पढाइमा भने केही कमजोर थिए । तर पार्टी, व्यवस्था, पञ्चायतको विरोधमा भने उनी सानैदेखि खरो थिए । ‘अरुका कुरा सुनेर तर्क दिन एकदम टाठा थिए । चञ्चले स्वभावका थिए । तर पढाइमा उति साह्रो थिएनन्, राजनीतिक बहसमा भने जित्न मुस्किल पथ्र्यो,’ खगेन्द्र स्मरण गर्छन् । 

१४ वर्षकै उमेरमा गुरुङ पहिलो पटक विद्यार्थी आन्दोलनमा सहभागी भए । त्यति बेलै उनी दहधुम माविको नेविसंघ इकाइ सभापति भइसकेका थिए । १० कक्षा उत्तीर्ण भएलगत्तै उनले भूमिगत रुपमै कांग्रेसको सदस्यता लिए, उनै खगेन्द्रको हातबाट । २०४० मा उनी नेविसंघको जिल्ला सचिव बने । 

आइ.ए. पढ्न धनराज पोखरा लागे । पृथ्वीनारायण क्याम्पसमा आइ.ए. पढ्दापढ्दै उनी नेविसंघकै राजनीतिमा थिए । पृथ्वीनारायण क्याम्पसमा अनेरास्वियूको पकड थियो । त्यसबेला अनेरास्वियुमा रविन्द्र अधिकारी, तुलबहादुर गुरुङ, झलक सुवेदी जस्ता नेताको अधिपत्य थियो । 

धनराजले २०४३–४४ मा स्ववियुको चुनाव लडे । २०४३ मा उनी स्ववियूको उपसभापति र २०४४ मा सभापतिमा भिडे । तर दुवैपटक उनी पराजित भए । २०४३ मा तुलबहादुर गुरुङले हराए भने २०४४ मा झलक सुवेदीले पराजित गरे । धनराज त्यतिबेला पृथ्वीनारायण क्याम्पसमा कमजोर संगठनका लागि वैचारिक युद्ध लडे । 

त्यसबेला धनराजसँगै राजनीति गरेका धनराज आचार्य (अहिले नेकपा समाजवादी, कास्कीका अध्यक्ष) उनलाई वैचारिक र निष्ठावान् नेता मान्छन् । यी दुई नेता विद्यार्थी राजनीतिका बेला विपरित धुव्रमा भएपनि एकअर्कासँग हार्दिक सम्बन्ध थियो । एकअर्कालाई ‘मितज्यू’को सम्बोधन गर्थे । ‘त्यतिबेला नेविसंघ कमजोर थियो । आवाज दबाइएपनि उहाँ खरो उत्रिनु हुन्थ्यो । कहिले त झडप नै पथ्र्यो, उहाँको भाषण दमदार हुन्थ्यो,’ आचार्य सम्झन्छन् । 

पञ्चायत विरुद्धको आन्दोलन गर्दा यी दुवै नेता समातिए । रविन्द्र अधिकारी, झलक सुवेदी, धनराज आचार्य पोखराबाट समातिए भने धनराज गुरुङ स्याङ्जाबाट । अहिले आचार्य पार्टीको जिल्ला अध्यक्ष बनेका छन् । आफ्ना समकालिन नेता कांग्रेसको उपसभापति बन्दा आचार्य पनि खुसी छन् । ‘सामान्य परिवारबाट आउनुभएको हो उहाँ । अन्यायका विरुद्ध बोलिहाल्ने । पार्टीमै पनि त खरो आलोचक हुनुहुन्छ, गर्व लाग्छ,’ आचार्यले सुनाए । 

२०४८ मा धनराज नेविसंको केन्द्रीय उपसभापति बने  । ५ वर्षपछि उनको सभापतिमा पदोन्नति भयो । २०५४ मा धनराज तरुण दलको महासचिव बने । २०६४ मा पहिलो पटक उनी संविधानसभा सदस्य बने । 

कांग्रेसमा धनराज पहिलो पटक उपसभापतिमा निर्वाचित भएका हुन् । उनले पार्टी राजनीतिमा ठूलो छलाङका साथ उपसभापति निर्वाचित भएका हुन् । १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमै सीमित थिए । शेखर कोइरालाको प्यानलबाट उपसभापति उठेका गुरुङ यसअघि कहिल्यै पनि पार्टी पदाधिकारी थिएनन् ।

पार्टीभित्र पदाधिकारी पनि नबनेका उनी दुई कार्यकाल संविधान सभा सदस्य बन्नु बाहेक सांसद बन्न सकेनन् । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राजु थापा र गोपालमान श्रेष्ठले टिकट पाए । प्रदेशसभामा श्रेष्ठ निकट भागवतप्रकाश मल्ल उठे । 

अब भने उनी पार्टीमा सम्मानित पदमा पुगेका छन् । यसअघि गोपालमान श्रेष्ठ पार्टी उपसभापति थिए, यसैले उनको निर्वाचन क्षेत्रमा प्रभाव बलियो थियो । धनराज अब गोपालमानको स्थानमा पुगिसकेका छन् । केन्द्र र जिल्लाका राजनीतिमा अब धनराजको प्रभाव रहने पक्का छ । 

धनराजको राजनीतिक फड्को देख्दा उनका गुरु खगेन्द्रराज रेग्मी सबैभन्दा खुसी भएको दाबी गर्छन् । ‘खाल्टेको आच्युँ (कान्छो) आज पार्टीको शिखर चुम्न आँटेको छ । मैले उसलाई राजनीतिमा ल्याएँ । आज उ ठूलो ठाउँमा पुग्दा म आफैं पुगेको महसुस गरेको छु,’ खगेन्द्रले सुनाए । 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x