संवैधानिक अंग

अख्तियार हेटौँडामा एक वर्षमा १३ हजार उजुरी दर्ता

इकागज |
भदौ १४, २०७९ मगलवार २१:५६ बजे

मकवानपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले वार्षिक विवरण सार्वजानिक गरेको छ । आयोगले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कामहरूको तथ्याङ्गत विवरण सार्वजानिक गरेको हो ।

भ्रष्ट्राचार न्यूनीकरणको लागि सहकार्य सम्बन्धी छलफलमा आयोगका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रभा सापकोटाले वार्षिक १३ हजार भन्दा बढी उजुरी दर्ता भएको जानकारी दिए । सापकोटाले भ्रष्टचार सम्बन्धमा विश्वमा नेपालको अवस्था, वार्षिक तथ्याङ्क, प्रदेशगत उजुरीको विवरण, भ्रष्टचारजन्य प्रवृतिको विश्लेषण जस्ता विषयहरुमा जानकारी दिए । 


सापकोटाका अनुसार आयोगको हेटौडा कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा दर्ता भएका उजुरी १३ हजार ५६ तथा आर्थिक वर्ष २०७७/७८ को फर्छ्यौट हुन नसकी जिम्मेवारी सारिएको बाँकी ८ हजार ९३ उजुरी रहेका छन् । आयोगको हेटौँडा कार्यालयमा दर्ता भएका उजुरीमध्ये १३ हजार १ सय ६ उजुरी फर्छ्यौट भएको सापकोटाले बताए ।

‘आयोगले चालु आर्थिक वर्षमा ९० वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको छ’ सापकोटाले भने– ‘उक्त मुद्दाहरूमा ४ सय ६३ जना व्यक्तिलाई प्रतिवादी बनाईएको छ ।’

विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णयबाट २ अर्ब ५४ करोड ४७ लाख ६ हजार ४४ रुपैयाँ बिगो मागदाबी गरिएको उनले बताए । विशेष अदालतमा दर्ता गर्ने निर्णय गरेको ९० वटा मुद्दा मध्ये राष्ट्रसेवक कर्मचारी २ सय २२ जना, निर्वाचित र मनोनित पदाधिकारी १ सय जना, मतियारहरुमा १ जना पूर्व मन्त्री, व्यवसायी र अन्य गरी १ सय ४० जना रहेका छन् ।

आयोगमा सार्वजनिक खरिद, निर्माण, उपभोक्ता समिति, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरु परेको बताइएको छ । सापकोटाले सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी उजुरी प्रायः दर्ता हुने गरेको बताए । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरु समेत दर्ता भएको सापकोटाले बताए । 

कार्यक्रममा आयोगका प्रमुख सहसचिव नरहरि घिमिरेले भ्रष्टाचार रोकथामका लागि सञ्चारमाध्यमले पनि नागरिकलाई सचेतना फैलाउन आग्रह गरेका छन् । उनले कानुनी दायरामा रहेर भ्रष्टचारीलाई कारबाही गरी भ्रष्टचारको अन्त्य गर्नतर्फ आयोग लागि रहने बताए । 


Author

थप समाचार
x