संवैधानिक अंग

निर्वाचन

निर्वाचन गराउन सबै तयारी पूरा भएको छः आयोग (सुझावसहित)

इकागज |
माघ २४, २०७८ सोमबार १५:५२ बजे

काठमाडौँ– निर्वाचन आयोगले आफूले प्रस्ताव गरेकै मिति अनुसार सरकारले निर्वाचनको मिति घोषणा गरे निर्वाचन गराउन सबै पूर्वतयारी भैसकेको जनाएको छ ।

‘सरकारको निर्णय आउनसाथ निर्वाचनमा होमिन्छौं । यसका लागि थप कानुन, नियम आवश्यक पर्दैन,’ आयोगका एक पदाधिकारीले भने, ‘आयोगले सरकारलाई ६ पृष्ठ लामो सुझाव पठाएको छ । सरकारबाट अनुमोदन प्राप्त हुनासाथ हामी अघि बढ्छौं ।’


स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानून बमोजिम आयोगलाई सामान्यतयाः १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएपनि आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका काम सम्पन्न भैसकेकाले स्थानीय तहमा निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको आयोगको भनाई छ ।  

यसअघि  २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको पदावधि २०७९ जेठ ५ मा समाप्त हुने भएकोले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सकिने आयोगले सरकारलाई बुझाएको ६ पृष्ठ लामो सुझावमा उल्लेख छ । 

‘आयोगको संवैधानिक एवम् कानूनी दायित्व भएको हुँदा २०७९ जेष्ठ ४ गते वुधवारका दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको’ आयोगले जनाएको छ । 

स्थानीय तह निर्वाचनको मिति तय गर्न आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । 

यो पनि पढ्नुहोस्: 

स्थानीय निर्वाचनका लागि आयोगले माग्यो १२ अर्ब रुपैयाँ बजेट


Author

थप समाचार
x