कर्पोरेट

चौधरी फाउण्डेसनद्वारा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ हस्तान्तरण

इकागज |
जेठ ४, २०७९ बुधबार १७:५२ बजे

काठमाडौँ- चौधरी फाउण्डेसनले काठमाडौंको कान्ति बाल अस्पतालमा ‘सारिकादेवी चौधरी आकस्मिक कक्ष’ निर्माण गरि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । चौधरी फाउण्डेसन मार्फत् उक्त अस्पतालको आकस्मिक कक्षको स्तरोन्नती र विस्तार कार्यमा सारिकादेवी चौधरीको विशेष योगदान रहेको जनाएको छ ।   
बुधबार अस्पतालमा आयोजित एक समारोहका बीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गरेका छन् । उक्त अवसरमा बोल्दै राज्य मन्त्री श्रेष्ठले देशको अग्रणी व्यवसायिक घराना चौधरी ग्रुपले सर्वसाधारण नागरिकका सन्ततिले उपचार सेवा पाउने अस्पताललाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तो सहयोग जारी रहने अपेक्षा आफुले राखेको बताए । फाउण्डेसनद्वारा १४ शैयाको इमर्जेन्सी वार्ड विस्तार गरि २५ शैयाको निर्माण गरिएको छ ।
चौधरी फाउण्डेसन नेपालका एकमात्र डलर अर्बपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक कामका लागि स्थापना गरेका हुन् । राजनीतिमा समेत सक्रिय रहेका चौधरी हाल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रहेका छन् । 
आकस्मिक कक्ष हस्तान्तरण समारोहमा बोल्दै फाउण्डेसनका महासचिव सारिकादेवी चौधरीले आफु आमा रहेको र आफ्ना सन्तान विरामी पर्दा आमाहरुको मन कति पोल्छ भन्ने बारेमा आफुलाई गहिरो अनुभूति रहेको बताउदै सर्वसाधारण नेपाली नागरिकका बालबच्चाले उपचार पाउने कान्ति बाल अस्पताललाई आफूले रोज्नुको कारण यहि रहेको बताइन् । आम नेपाली बालबालिकाको उपचारमा अहिले विस्तार गरिएको आकस्मिक कक्षले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरिन् ।  

उक्त अवसरमा फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले अस्पतालका निर्देशक प्रा.डा.युवनिधि बसौलालाई निर्माण सम्पन्न भएको वार्ड हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले मुलुककै जेठो बाल अस्पतालको पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफुलाई सन्तोष लागेको बताए । चौधरीले आउँदा दिनहरुमा अस्पतालको सेवा विस्तारमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।


‘बालबालिका देशको भविष्य निर्माता हुन्’ उपाध्यक्ष चौधरीले भने, ‘त्यसैले उनीहरुलाई गुणस्तरीय स्वास्थ्य र शिक्षा उपलब्ध गराउन हामी सबैले विशेष ध्यान दिनुपर्छ ।’ उपाध्यक्ष चौधरीले दुर–दराजसम्मका सर्वसाधारण र निम्न आर्थिक स्तर भएका नागरिकका सन्ततिले पनि सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पाउन भन्ने ध्येयले आफुहरुले कान्ति बाल अस्पताललाई सहयोग गरेको बताए । देशको विकासका लागि बालबालिकामाथिको लगानी अत्यावस्यक रहेकोमा जोड दिदै उपाध्यक्ष चौधरीले गुणस्तरीय शिक्षा र स्वास्थ्यमार्फत् बालबालिकाहरूलाई बलियो बनाउन आवस्यक रहेको बताए । 

कान्ति अस्पताल देशकै मुख्य बाल अस्पताल हो । हरेक वर्ष करिव एक लाख पचास हजार विरामी बालबालिकालाई चिकित्सकीय सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पताल ३७२ शैयाको छ । चौधरी फाउण्डेसनले आज हस्तान्तरण गरेको आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेकोे छ । फाउण्डेसनले इमर्जेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि उपलब्ध गराएको छ । फाउण्डेसनले इमरजेन्सी वार्डलाई निशुल्क वाईफाई जोन पनि बनाएको छ । यसकोलागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले चौधरी फाउण्डेसनले देशका विभिन्न अस्पतालहरुमा गरिरहेको सहयोगको सह्राना गर्दै कान्ति अस्पतालको आकस्मिक कक्ष विस्तारमा पुर्‍याएको योगदान अतुलनीय भएको बताए । अस्पतालका निर्देशक.डा.युवनिधि बस्यौलाले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे । उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।

चौधरी फाउण्डेसनले स्वास्थ्य क्षेत्रमा देशैभरि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कोभिड महामारीबीचमा गत बर्षको जेठमा युनिफाइड कोभिड अस्पताल (वीर अस्पताल) मा १८ शैयाको सिजि आइसियु वार्ड तथा धनगढी तथा सुर्खेतमा अक्सिजन प्लान्ट निर्माण गरेकोे थियो । फाउण्डेसनले आफ्नो स्वास्थ्य सहयोग अन्तरगत हाल सरकारी अस्पतालका पूर्वाधार निर्माणमा सहयोग केन्द्रित गरिरहेको छ । 


Author

थप समाचार
x