कर्पोरेट

'हिमाल बचाउने प्रयास: हाम्रो हिमाल, हाम्रो दायित्व' मार्फत हिमाल सफाई गरिदै

इकागज |
जेठ ७, २०७९ शनिवार ३:५९ बजे

काठमाडौँ - सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजङ्घा हिमाल लगायत ४ हिम-शृंखलाहरूको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरूले पनि  सहकार्य गरेका छन् ।

यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरू गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ । यहि समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो जसमा अहिलेसम्म ४ वटा हिम-शृंखलाहरूबाट २९ हजार ९ सय ९८ के जी फोहोर संकलन भइसकेको छ ।


अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ । अभियानको बारेमा बोल्दै क्याम्पेन डिरेक्टरले भने, 'अत्याधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतिपूर्ण हुन्छ । हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिले सम्मको यात्रा तय गरेका छौँ । र यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौं ।'

नेपाली सेना र विभिन्न सरोकारवालाहरूको अगुवाईमा सञ्चालित यस हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान मध्येको एक हो र यो अभियानको तेस्रो संस्करण हो जसमा कोका-कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ । हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिम–शृंखलाहरूको सरसफाई गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा “हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो दायित्व” रहेको छ ।

स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि  बढिरहेको छ । यस अभियानबाट सङ्कलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ । यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिनेछ ।


Author

थप समाचार
x