कर्पोरेट

डिजिटल इकोनोमी कन्क्लेभ सकियो

इकागज |
जेठ २२, २०७९ आइतवार १२:५७ बजे

काठमाडौंँ- मुलुकको अर्थतन्त्रमा देखिएको बढ्दो डिजिटलाइजेसन दृष्टिगत गर्दै आयोजना गरिएको दोस्रो संस्करणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२  सम्पन्न भएको छ । ब्राण्डवर्थ प्रालिले आयोजना गरेको एक दिने कन्क्लेभ शुक्रबार काठमाडौंँमा सम्पन्न भएको हो । 

कन्क्लेभलाई नेपाल सरकारका सुचना सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदै मन्त्री कार्कीले  डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताए । उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताए । यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउने पुग्ने  उनको भनाइ छ । 


यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजिटलाइजेशनतर्फ विकास उत्साहजनक देखिएकोे बताए । विशेषगरि कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको बताए । १/२ वर्षअघि यस्ता कार्यक्रमहरूमा नेपालको अर्थतन्त्र कहिले डिजिटलाइज्ड हुन्छ भनेर प्रश्न आउँथ्यो । तर, आज त्यस्तो प्रश्न आउने अवस्था नभएको उनले बताए। यद्यपि, डिजिटलाइजेशनतर्फ गर्नुपर्ने कामहरू धरै रहेको बताउँदै उनले त्यसको लागि राष्ट्र बैंक सकारात्मक रहेको बताए । 

कन्क्लेभमा भिसाको दक्षिण एशिया र भारतका लागी ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोषले कि-नोट स्पीच प्रस्तुत गरेका थिए । कार्यक्रममा उनले नेपालले पछिल्ला दिनमा डिजिटल भुक्तानीमा ठुलो फड्को मारेको बताए। कन्क्लेभमा विभिन्न ४ सत्र विभिन्न विषयमा प्यान डिस्कसन पनि गरिएको थियो । जसमा पहिलो सत्रको ‘बदलियो समय, बदलियो अर्थतन्त्र‘ बिषयक प्यानल डिस्कसन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना, सुचना सञ्चार तथा प्रविधि मन्त्रालयका सह सचिव उत्तरकुमार खत्री र  अर्थमन्त्रालयका सह सचिव महेश आचार्य वक्ताका रुपमा रहेका थिए ।

कार्यक्रमलाई समृद्धि फाउन्डेसनका दिपेन्द्र चौलागाईंले मोड्रेसन गरेका थिए । छलफलमा उनीहरूले डिजीटल अर्थतन्त्रको विकास गर्न पुर्वाधारको विकास गर्नुपर्ने बताए। पछिल्लो समय अर्थतन्त्र डिजिटलाइज्ड भइरहेकोले त्यसलाई पूर्णता दिन डेटा सेन्टर लगायतका पुर्वाधारको विकास गर्नुपर्ने उनीहरूको भनाइ थियो ।  आवश्यक पुर्वाधारको विकास गर्न सके अर्थतन्त्रको डिजिटलाइजेशनतर्फ थप फड्को मानिने उनको भनाइ छ ।

यस्तै दोस्रो सत्रमा ‘सधैका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’ विषयमा छलफल भएको थियो । विश्वबैँकका सिनियर डिजिटल स्पेसलिष्ट सिद्धार्थ राज मोडियटर रहका छलफलमा, इम्प्याक्ट हबकी निर्देशक बहार कुमार, उटोपियाकी प्रबन्ध निर्देशक डोरी न्गुयान फुसेमेसिनकी निर्देशक रुची पाण्डे वक्ता थिए । उक्त सत्रमा डिजिटल इकोनोमीमा महिलाहरूलाई अवसर पुर्‍याउने विषयमा छलफल भएको थियो । अहिलेको इको सिस्टम मेल डोमिनेट भएको बताउँदै त्यसलाई महिला मैत्री बनाउनुपर्ने उनीहरूको माग थियो । 

यस्तै  नेपाल सानो बजार कि असीमित सम्भावना ? विषयमा छलफल भएको थियो । पत्रकार जनार्दन बरालले मोडिएटर गरेको कार्यक्रममा सफल पार्टनर्सका फाउण्डर आसुतोष तिवारी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत  रामकृष्ण खतिवडा, अर्थशास्त्री श्रीबाबा पोखरेल, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राना वक्ता थिए । कार्यक्रममा उनीहरूले अर्थतन्त्रको विकास गर्न नेपाली अर्थतन्त्रलाई उत्पादनशिल बनाउनुपर्ने बताए । साथै, वैदेशिक व्यापारमा पनि उत्तिकै जोड दिनुपर्ने उनीहरूको भनाइ थियो । 

यसैगरी चौथों सत्रमा नेपाली युनीकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा छलफल भएको थियो । नविल बैंकका सिइओ अनिलकेशरी शाहले मोडिएटर गरेको उक्त सत्रमा अआइएमइ ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, डोल्मा इम्प्याक्ट फण्डका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देल, अवसर इक्वीटीका अध्यक्ष लोकेश टोडी,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडकी सिइओ उषा खतिवडा वक्ता रहेका थिए । नेपालमा युनिकोर्न खोजी गर्न निजी क्षेत्रबाट विशेष प्रकृतिको पूँजी स्थापना हुनुपर्ने उनीहरूको भनाइ थियो । साथै, सरकारले पनि नीतिगत रुपमा प्रोत्साहन गर्नुपर्ने बताए । 
  
कन्क्लेभमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले धन्यवाद ज्ञापन गर्दै डिजिटल नेपालले नेपालीको भविष्य पनि राम्रो बनाउने र अर्थतन्त्रमा पनि सहयोग पुग्ने बताए । साथै, व्यवसाय गर्ने व्यक्तिलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले विगत १८ वर्षदेखि डिजीटल ट्रान्सफरमेसन लगायतका व्यवसायमा काम गर्दै आएका छौं । यो बीचमा हामीले धेरै दुःख पायौं, उनले भने, ‘तर अब आउने नयाँ उद्यमीहरूले हामीले जस्तो दुःख पाउनुहुँदैन । सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ ।’

कोभिड १९ पछि  नेपालीहरू डिजीटल प्रविधिका अनेकौँ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटलाइजेशनतर्फ तर्फ फड्को मारिरहेको कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजना गरिएको थियो । सत्रहरूमा नेपाली डिजीटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय, तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । यस कार्यक्रमको मुख्य प्रायोजक फोनपे रहेको थियो भने कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको थियो ।


Author

थप समाचार
x