कर्पोरेट

नर्भिकमा फेरि यूरोलोजीको टिमले निःशुल्क ओपिडी चलाउने

इकागज |
जेठ २५, २०७९ बुधबार १७:२८ बजे

काठमाडौंँ - नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिवार(जेठ २८ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०:३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो । 

नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको हो । 


यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ । मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । 

यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिने जनाएको छ । 
मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ । 


Author

थप समाचार
x