एनसेल सेन्टर महाराजगञ्जमा सबै कर्मचारी महिला
काठमाडौं - एनसेल आजियाटा लिमिटेडले काठमाडौंको महाराजगञ्जमा सम्पूर्ण रुपमा महिला कर्मचारीहरुद्वारा संचालित एनसेल सेन्टर संचालनमा ल्याएको छ ।महिला कर्मचारीहरुद्वारा व्यवस्थापन तथा संचालन गरिएको यस एनसेल सेन्टरको सुरुवातले समानताको हिसाबले हाम्रो समाजमा महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने एनसेलले जनाएको छ ।
'एनसेलको यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाण हो, ' एनसेलले जारी गरेको विज्ञप्तिमा छ 'यसका साथै यो अवधारणा एनसेलको विविधता, समानता र समावेशिता (डीइआई) मिशन अनुरुप रहेको छ जसले कार्यस्थलमा विविधता, समानता र समावेशिताको दृढतापूर्वक प्रोत्साहन गर्दछ ।'
'काठमाडौंको मुटु महाराजगञ्जमा पूर्णरुपमा महिला कर्मचारीहरुद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर संचालनमा ल्याउन पाउँदा हामी हर्षित छौं' एनसेलका मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भने, 'यो कदमले एनसेलको डीइआई अर्थात विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थन जस्ता रणनीति र अभ्यासहरुले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।'
त्यसैगरी एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले भनिन्, यस अघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरै जसो पुरुषहरुको सहभागिता रहने गर्दथ्यो । विगत ३–४ वर्षमा यस क्षेत्रमा लैंगिक समानताका लागि निरन्तर प्रयासहरु भएका छन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिपेक्षमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ । लैंगिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ ।”
उक्त सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने विज्ञप्तिमा छ ।
विज्ञप्तिअनुसार उक्त सेन्टरबाट ग्राहकहरुले आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।
एनसेलले सेन्टरमा आउने ग्राहकका लागि एक साताको विशेष अफर पनि गरेको छ । उक्त सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । प्रत्येक ५० रुपैयाँको रिचार्ज बराबर ग्राहकले २० रुपैयाँको रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ । त्यस्तै २०० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको चारवटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त पाउने र
पाँच सय रुपैयाँको रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको १० वटा रिचार्ज कार्ड बोनस स्वरुप प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।
आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्न उक्त सेन्टरले आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ः३० बजे देखि साँझ ६ बजे सम्म ग्राहकहरुलाई सेवा प्रदान गर्ने जनाएको छ । एनसेलले देशभरी ३१ एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया