समर अफर अन्तर्गत सस्तोमा सेवा उपलब्ध गराउँदै टेलिकम
काठमाडौँ - नेपाल टेलिकमले ग्राहकहरूलाई समर अफर अन्तर्गत नयाँ अफर सञ्चालन गरेको छ। साउन १ देखि लागू गरेको समर अफर अन्तर्गत हाल केही नयाँ र आकर्षक अफर समेत उपलब्ध गराइरहेको हो ।
कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरू उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको छ । नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ । २० मिनेट भ्वाइस प्याक १५ रूपैयाँमा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ । त्यस्तै १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि ४९ रूपैयाँमा उपलब्ध छ । त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि ४९ रूपैयाँमा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।
यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ । अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि १५ रूपैयाँमा, २०० एसएमएस ३ दिनको लागि २९ रूपैयाँमा ३०० एसएमएस २८ दिनको लागि ९८ रूपैयाँमा पठाउन सकिने छ ।
कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढीे डाटा भोल्युम उपलब्ध गराइएको छ । सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् ।
पहिले उपलब्ध अधिकांश अफरहरूलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ ।
समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया