कर्पोरेट

सुस्ताएको पर्यटनमा उत्साह भर्ने नेतृत्वको खोजीमा ‘टान’का व्यवसायी

इकागज |
साउन २७, २०७९ शुक्रबार १८:१६ बजे

काठमाडौँ- पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासीले आ-आफ्नो समूहबाट उम्मेदवारी घोषणा गरेका छन् ।​ टानको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा हालसम्म तीन जना प्रत्यासी चुनावी अभियानमा छन् । 

वरिष्ठ पर्यटन व्यवसायी निलहरि बास्तोलाको नेतृत्वमा नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) समर्थित पर्यटन व्यवसायीहरू सहकार्य गर्ने तयारीमा देखिएका छन् ।


कांग्रेस निकट व्यवसायीहरूको सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट), एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन र एकीकृत समाजवादी निकट पर्यटन व्यवसायी सङ्गठन बीच सहकार्य गरेर निर्वाचनमा जाने सहमति भएको छ । 

साथै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट व्यवसायीको तर्फबाट कमल सापकोटा र स्वतन्त्रको तर्फबाट बोधराज भण्डारीले टान नेतृत्व लिने आकांक्षा देखाएका छन् । 

कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान र व्यवसायमा उत्साह भर्न सक्ने नेतृत्वको खोजीमा पर्यटन व्यवसायीहरू रहेको देखिएका छन् । उनीहरूले स्पष्ट कार्ययोजनासहितको नेतृत्व आउन सकेमा मात्र यो क्षेत्रको सुधारमा टेवा पुग्‍ने विश्‍वास लिएको बताएका छन् ।

अध्यक्षका प्रत्यासी बास्तोलाले टानलाई डिजिटलाइज गर्दै पूर्ण व्यवसायीमैत्री संस्थाको रुपमा विकास गर्ने, पर्यटन क्षेत्रलाई गुणस्तरीय र दक्ष मानवस्रोत साधनयुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । उनले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि गर्न जरुरी रहेको भन्दै बिजनेस दर्ता गरेर मात्रै यो क्षेत्रको वृद्धि विकास नहुने बताए ।  

‘व्यवसाय गर्न व्यवसायी योग्य र सक्षम छ कि छैन ?’ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै बास्तोलाले ‘पदमार्गमा कुनै पदयात्री समस्यामा परेर सहयोग मागेमा टानले सहजीकरण गर्ने’ विषयलाई आफूले प्राथमिकतामा राखेको बताएका छन् ।

व्यवसायीको सहजीकरणको लागि हेल्प डेस्क राख्‍ने, ७ वटै प्रदेशमा ट्रेकिङ ट्रेलको विकास गर्ने, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई प्रभावकारी बनाएर व्यवसायी र मजदुरबीचको भावनात्मक एकता अभिवृद्धि गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४ औँ साधारण सभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुने बताइएको छ । टानका अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनीत गरिनेछ । टानमा करिब एक हजार ८०० सदस्य रहेका छन् । 

व्यवसायीको नजरमा टानमा नेतृत्व कस्तो ?

पूर्वअध्यक्ष रमेश धमलाले विषयवस्तुलाई बुझेर प्रस्तुत गर्ने, पर्यटन क्षेत्रको समस्यासँग जुध्‍न सक्ने नेतृत्व अहिलेको अपरिहार्यता रहेको बताए । अध्यक्षका प्रत्यासीमध्ये बास्तोला सफल पर्यटन व्यवसायी, पर्यटन क्षेत्रको विभिन्‍न क्षेत्रमा लगानी गरेर स्थापित रुपमा चिनिएको नाम भएकोले नेतृत्वका लागि उपयुक्त रहेको जिकिर गरेका छन् ।

आन्तरिक प्रशासनलाई चुस्त र दुरुस्त बनाउँदै समस्याको पहिचान गरी सरोकारवालासँग समन्वय गरेर समाधान गरिनुपर्ने व्यवसायीको धारणा रहेको छ । लगानी, कनेक्टिभिटी र उत्पादनको चुनौतीलाई व्यवस्थापनबारे बुझेको नेतृत्व आवश्यक रहेको भन्दै उनीहरूले सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा व्यवसायीको जोड रहेको बताएका छन्

अध्यक्ष खुमबहादुर सुवेदीले महामारीले सुस्ताएको पर्यटन व्यवसायमा उत्साह भर्ने निर्भिक र जिम्मेवार नेतृत्व आवश्यक भएको बताए । उनले पर्यटन क्षेत्रको अनुभव र विज्ञताको आधारमा नेतृत्व चयन गर्नुपर्ने कुरा औंल्याएका छन् ।

पर्यटन व्यवसायी निमा शेर्पाले व्यवसायीको हितमा काम गर्ने संस्थाको रुपमा स्थापित गर्न सही नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । काठमाडौँ एडभेन्चर ट्रेक्सका प्रबन्ध निर्देशक एक्सपेन्सन दाहाल पनि नयाँ नेतृत्वले टानलाई संस्थागत सुदृढीकरण र गतिशील बनाउन जोड दिनुपर्ने बताए ।


Author

थप समाचार
x