कर्पोरेट

महिला विकासमा शिक्वलको प्रविधि-मैत्री प्रयास

सुगत पराजुली |
माघ १०, २०७९ मंगलबार १२:२० बजे

शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । माघ २७ देखि २९ गतेसम्म धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजना हुने कार्यक्रम पूण रुपमा महिला विकासप्रति लक्षित हुनेछ । तमाम नेपाली महिलाहरूलाई लक्षितगरी आयोजना गरिएको यस कार्यक्रमका लागि शिक्वल फाउण्डेसनले गर्ल्स इन टेक र वुमन इन बिग डेटासँग सहकार्य गरेको छ ।  

'ह्याकिङ फर ह्युम्यानिटी' महिला प्रति समर्पित ३ दिने कार्यक्रम हो, जहाँ  १६-२५ वर्ष उमेरका विकासकर्ता, डिजाइनर, विद्यार्थी, उद्यमी, शिक्षक, र सल्लाहकार मिलेर काम गर्नेछन् र सामाजिक समस्याहरू समाधान गर्ने एप बनाउन लाग्ने छन् । ह्याकिङ्ग फर ह्युमानिटीमा विविध पृष्ठभूमिका महिलाहरूलेसँगै काम गर्ने छन् । प्रस्तुत ह्याकाथन कार्यक्रमले उनीहरूले राम्रो मात्र गर्दैनन्, अपितु विश्वव्यापी परिवर्तनको शक्ति बन्नेछन् भन्ने मुख्य लक्ष्य लिएको छ ।  


ह्याकिङ फर ह्युम्यानिटीमा सहभागी महिलाहरुले उत्साहसाथ खेती, व्यवसाय, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा देखिएका सामाजिक तथा आर्थिक समस्यालाई समाधान गर्न आफ्नो आईडिया अनुसारको नमुना तयार पार्नेछन् ।

यस ह्याकाथन प्रतिस्पर्धामा सहभागी हुन आगामी माघ १६ गतेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ । प्रत्येक टिममा ३ जना महिला सदस्य मात्र राख्न पाइनेछ । यदि तपाई पनि आफ्नो टिम दर्ता गर्न चाहनुहुन्छ भने तलको क्युआर कोड स्क्यान गरेर आ-आफ्नो टिम दर्ता गर्न सक्नुहुनेछ ।

ह्याकाथनमा भागलिन अहिलेसम्म २७ भन्दा बढी टिमले दर्ता गरिसकेका छन् । उत्साही महिला आवेदकहरुबाट आएका आवेदन मध्येबाट आगामी माघ २० गते एप निर्माण गर्ने टिमको छनोट गरिने छ ।

हाल शिक्वल फाउण्डेसनका सम्पूर्ण टोली ह्याकाथनको प्रि-इभेन्टमा व्यस्त रहेका छन् । प्रि-इभेन्टमा डिजाइन थिंकिङ, इन्टरप्रेनियल फाइनान्स, व्युजिनेश मोडेल क्यान्भस, आइडिया पिच डेलिभर र स्टोरी प्रिजेन्टेसन जस्ता  कार्यक्रम सञ्चालन भइरहेका छन् । उक्त कार्यक्रमको लागि शिक्वलको टोली १५ वटाभन्दा बढी शैक्षिक संस्थामा पुगिसकेको छ।  

कार्यक्रममा १६ भन्दा बढी मेन्टर र ११ भन्दा बढी निर्णायक टोली रहेका छन् । छनोट भएका प्रत्येक टिमलाई ह्याकाथनको अवसरमा मेन्टर उपलब्ध गराइने छ ।
यस किसिमका ह्याकाथन इभेन्टहरु गर्ल्स इन टेकले नेपाल लगायत अस्ट्रेलिया, ताइवान, डालास, डब्लिन, स्यान डियेगो, ग्रिबाल्तार, स्पेन, सान फ्रान्सिस्को, स्वीजरल्याण्ड, डोमिनिकन रिपब्लिक आदि देश र शहरहरुमा पटक पटक आयोजना गर्दै आएको छ ।
प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार समेतको व्यवस्था गरिएको छ ।


Author

थप समाचार
x