कर्पोरेट

नेपाल टेलिकमले ल्यायो एक महिने लकडाउन स्टे कनेक्टेड अफर

इकागज |
बैशाख ३०, २०७८ बिहीबार १७:५० बजे

काठमाडौं : नेपाल टेलिकमले कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनलाई मध्यनजर गरी शुक्रबारबाट एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर ल्याएको छ । यो अफरअनुसार अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । 

अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । यो डाटा प्याकको स्पिड एक एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने छ । यो प्याक बिहान पाँच बजेदेखि बेलुकी पाँच बजेसम्म मात्र चलाउन सकिने भएकोले सो समय अघि पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ ।


यस अवधिमा एमपोस  अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइने छ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा पाँच सय एमबी डाटा उपलब्ध गराइने छ र सो डाटा दुई दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी पाँच सय रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ र डाटा चार दिन भित्र प्रयोग गर्न सकिने छ । 

यी अफरहरु फोरजी नेटवर्कमा प्रयोग गरी तीब्र गतिको डाटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्न सकिन्छ । साथै, आफ्नो मोबाइलको सिमले फोरजी नेटवर्क प्रयोग गर्न सक्ने/नसक्ने जाँच गर्न तथा फोरजी नेटवर्क एक्टिभेट गर्नका लागि *४४४# डायल गर्नु पर्ने टेलिकमले जानकारी दिएको छ ।


Author

थप समाचार
x