कर्पोरेट

आफ्ना ऋणीलाई नबिल बैंकको ढाडस

इकागज |
असार १, २०७८ मंगलबार १८:५३ बजे

काठमाडौँ : महेन्द्रनगरका यातायात व्यवसायी देवराज जोशीलाई नबिल बैंक महेन्द्रनगरबाट फोन आउँदा उनी सुरुमा झस्किए । एकदर्जनभन्दा बढी सवारी साधनहरू नबिल बैंकमार्फत् ऋणमा लिएका जोशीलाई बैंकको फोन आउँदा ब्याज र किस्ताको दबाब होला भन्ने सोचेका थिए उनले । तर, उनलाई बैंकका कर्मचारीले स्वास्थ्य अवस्था र परिवारका अरु सदस्यलाई के कस्तो छ भनेर स्वास्थ्य जानकारी लिए । 

उनले त्यतिखेर सन्तोषको श्वास फेरे जतिखेर बैंकका कर्मचारीले स्वास्थ्यको जानकारी लिएपछि व्यवसायमा परेको असर र प्रभावको कुरा गर्दै नआत्तिन आग्रह गरे । 
बैंकले ग्राहकलाई कोभिडका समयमा स्वास्थ्यको जानकारी लिएर कुनै सहयोग चाहिए खबर गर्नु भन्ने फोन आउँदा उनमा छुट्टै आत्मविश्वास पलाएको जोशी बताउँछन् । 


‘कोभिड– १९ को त्रास छँदैं थियो त्यसमाथि झन्डै डेढ महिनादेखि निषेधाज्ञाका कारण बन्द व्यवसायले थपिएको अर्काे तनाव पनि, यस्तो बेला बैंकले स्वास्थ्य र व्यवसायका विषयमा जानकारी लिएर आत्मविश्वास बढाइदियो,’ उनले भने । ‘बैंकले पछिल्लो पटक निरन्तर सम्पर्क गरेर मेरो र परिवारको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने काम गरिरहेको छ ।’

‘मैले नबिलबाट ऋण लिएर गाडीहरू लिएको छु, नेपालको सबैभन्दा लामो रुट काठमाडौंदेखि दार्चुलासम्मको बस सञ्चालन गरेको छु, बैंकले यस्तो बेला ऋणका लागि कुनै दबाब नदिएर बरु पुर्नकर्जा र सहुलियत ऋणमा सहजीकरण गरिदियो,’ उनले भने । यस्तो बेला हामी व्यवसायीलाई व्यक्तिगत स्वास्थ्य र वित्तीय स्वास्थ्य दुबैको तनाव हुने भएकाले बैंकले साथ दिदाँ मनोबल बढ्ने उनले बताए । 

काठमाडौं तीन धाराका ग्राहक खलिल मियाँलाई पनि यो बेला बैंकको व्यवहार पारिवारिक लागेको बताउँछन् । बैंकको कर्मचारीले फोन गरेर के कस्तो छ भनेर सोधखोज गरेको उनले बताए । ‘म तीनधारा शाखाको ग्राहक हो त्यही शाखाबाट मलाई स्वास्थ्य अवस्था कस्तो छ, परिवारमा के छ भनेर सोधखोज भयो,’ उनले भने । 

बैंकले महेन्द्रनगरका जोशी र काठमाडौंका मियाँलाई मात्र होइन देशभर आफ्नो शाखा र केन्द्रीय कार्यालयबाट आफ्ना ग्राहकलाई इमेल, फोन र एसएमएसमार्फत स्वास्थ्य अवस्थालगायतका विषयमा जानकारी लिदैं मनोबल बढाउने काम गरिरहेको छ । 

 

ग्राहकहरू बैंक परिवारका पहिलो सदस्य हुन्, हामी हरेक सेवा र सुविधा ग्राहकलाई प्राथमिकतामा राखेर गरिरहेका छौं भने यस्तो संकटको समयमा उनीहरूको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन विमुख हुन सक्दैनौं । – अनिलकेशरी शाह, सीइओ, नबिल बैंक 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बैंकले आफ्ना ग्राहकका लागि गर्नुपर्ने न्यूनतम केयर गरिरहेको बताए । यस्तो बेला बैंकले आफ्ना ग्राहकहरूलाई सामान्य सहयोग गर्दा पनि ग्राहकहरूको मनोबल बढ्छ, त्यसैले बैंकको सेवामा मात्र होइन व्यक्तिगत स्वास्थ्यमा पनि ‘केयर’ गरेको उनले बताए । 

‘ग्राहकहरू बैंक परिवारका पहिलो सदस्य हुन्, हामी हरेक सेवा र सुविधा ग्राहकलाई प्राथमिकतामा राखेर गरिरहेका छौं भने यस्तो संकटको समयमा उनीहरूको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन विमुख हुन सक्दैनौं,’ उनले भने, ‘नबिलले आफ्नो सुरुवात समयदेखि नै ग्राहकलाई पहिलो प्राथमिकतामा राखेको छ, ग्राहकहरूकै कारण नबिल नेपालको नम्बर १ बैंक बनेको हो, त्यसैले जस्तो संकटमा पनि बैंकले ग्राहकलाई साथसहयोग पुर्‍याउँदै आएको छ ।’  

यस्तो बेला ऋण र ब्याज तिर्न दबाब नभएर स्वास्थ्य अवस्था ग्राहक र परिवारको गाह्रो–साह्रो बुझ्ने र सद्भाव राख्नुपर्ने समय भएको उनको भनाइ छ । 
बैकले केन्द्रिय कार्यालयमार्फत प्रदेश कार्यालय र त्यहाँबाट शाखा कार्यालयको आफ्नो संरचना र नेटवर्क प्रयोग गरि ग्राहकहरूसँग सिधा सम्पर्क गरेको हो । ठूला शहरदेखि ग्रामिण क्षेत्रका स्थानीय तहमा रहेका बैंकका शाखाका कर्मचारीहरूले फोन, इमेल, एमएमएस र भौतिक दूरी कायम गरि भेटघाट गरेर ग्राहकहरूको अवस्था बुझ्ने प्रयास गरेको हो । 

स्वास्थ्य जानकारी लिने क्रममा कोभिडले व्यापार र व्यवसायमा परेको असरको पनि जानकारी लिदैं ग्राहकलाई नआत्तिन र धैर्य गर्न आग्रह गर्दै बैंकले मनोबल बढाइरहेको छ । 

वीरगंजका शम्भु कलवारले आफ्नो कारोबार नबिल बैंकको वीरगंज, भैरहवा र चितवन शाखामा गरिरहेका छन् । उनलाई पछिल्लो पटक बैंकका कर्मचारीले स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिदैं केही सहयोग चाहिएमा सम्पर्क गर्नसमेत भनेको उनले बताए ।  कलवार भन्छन्, ‘लामो समयसम्म कारोबार भएकाले पनि हुन सक्छ, बैंकका कर्मचारीलाई व्यक्तिगत रुपमा पनि चिनचान भएको छ, उहाँहरूले पनि पछिल्लो पटक अप्ठ्यारोमा केही समस्या भए खबर गर्न भन्नुभएको छ ।’

निषेधाज्ञाले बैंक जान समस्या हुँदा पनि बैंकका कर्मचारीहरूले घरमै आएर सेवा दिएकाले पनि यो बेला आत्मबल बढेको उनले सुनाए । विराटनगरका गोपाल अग्रवाललाई निषेधाज्ञाको बीचमा ४ पटकसम्म बैंकले फोन गर्‍यो । उनलाई बैंकले फोन गरेर परिवार र व्यक्तिगत स्वास्थ्यको जानकारी लियो ।

बैंकले फोन गरेर कोभिडले केहि समस्या भयो कि भनेर सोध्ने र बैंकले गर्न सक्ने सहयोगका लागि सम्झन भन्यो, अग्रवालले भने । यो बीचमा मेरो श्रीमतिलाई पोजेटिभ देखिएको थियो, सामान्य लक्षण भएकाले घरमै आइशोलेशनमा बसेर निको पनि भयो, बैंकका कर्मचारीले पटक पटक फोन गरेर जानकारी लिंदा आफ्नोपन महसुस भएको उनी बताउँछन् । 

‘निषेधाज्ञाले बन्दको बेला एलसीको काम, चेक क्लियरेन्सलगायत अरु कारोबारको विषयमा पनि बैंकले सजिलोसँग काम गरिदियो,’ उनले भने । व्यवसायीलाई आफ्नो व्यक्तिगतसँगै व्यवसायको पनि ख्याल राख्नुपर्ने हुनाले यस्तो समयमा बैंकले साथ दिएकोमा उनले खुसी व्यक्त गरे । 


Author

थप समाचार
x