वर्ल्ड लिंकले यसरी ग्राहक ठग्छ, नेट टीभी जडान गरेमो ४ महिनासम्म सेटअप बक्स दिएन
काठमाडौँ – इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले ग्राहकलाई अनेकन छुटका स्कीम ल्याउने तर भुक्तानी लिएर पनि डिभाइसको स्टक सकिएको लगायत अनेकन बहाना गरेर समयमा सेवा सुचारु नगराउने गरेको पाइएको छ । वर्ल्ड लिंकले १२ महिनाको एक मुस्ट रकम बुझाउनेलाई १४ हजार ४ सय रुपैयाँ लाग्ने र त्यसमा दुई नेट टिभी पनि उपलब्ध गराउने विज्ञापन गरिरहेको छ । आकर्षक विज्ञापनको आधारमा सेवाग्राहीले वर्ल्ड लिंकको सेवा लिन्छन् । तर नेट टिभी जोडिसकेपछि उसले १४ हजार ४ सयमा भ्याट जोडेर बिल काट्ने गरेको छ ।
आन्तरिक राजस्व विभागले निर्देशन जारी गरी मूल्य अभिवृद्धि कर मेनु रेट वा ट्याग मूल्यमा जोडिएको हुनुपर्ने भन्दै डिपार्टमेन्टल स्टोरमा सोही व्यवस्था लागू गरिसकेको छ । तर इन्टरनेट सेवाको गुणस्तर, मूल्यको नियमनमा दूरसञ्चार प्राधिकरणको लाचारीका कारण इन्टरनेटका ग्राहक ठगिएको गुनासो सर्वत्र छ ।
सेवा प्रदायकले एमआरपी देखाएपछि भ्याट त्यही जोडेर राख्नुपर्ने हुन्छ । तर बुझ्न पनि कठिन हुनेगरी विज्ञापनको कुनै कुनामा शर्तहरू लागू हुनेछन् भन्न वाक्य राखेर वर्ल्ड लिंकले उपभोक्तालाई ठगीरहेको छ ।
वर्ल्ड लिंकले इन्टरनेट र टीभीसहितको सेवा – नेट टिभी दिने भनेर त्यसको लाइन जोडिदिने तर टिभीको सेटअप बक्स भने समयमा नदिने गरिरहेको छ । सेटअप बक्सका लागि ताकेता गर्दा कहिले स्टक सकिएको भन्ने त कहिले आएपछि पाइहाल्नुहुन्छ नि भनेर उल्टै भुक्तानी लिइसकेका सेवाग्राहीप्रति रुखो व्यवहार गर्ने गरेको नयाँ बानेश्वरका सोम मैनाली बताउँछन् ।
नेट जोडेको चार महिनासम्म पनि बक्स उपलब्ध नगराएको मैनालीको गुनासो छ । पत्रकारितामा झण्डै डेढ दशक बिताएका युवराज आचार्य पनि वर्ल्ड लिंकले आफूलाई राउटर दिन नै चार महिना लगाईदिएको बताउँछन् ।
सेवा प्रदायकबाट ग्राहक ठगिएको गुनासो आउँदा पनि नेपाल दूरसञ्चार प्राधिकरणले कुनै अनुगमन र कारबाहीका लागि कुनै कदम नचाल्नुले त्यहाँका कर्मचारीहरूमाथि नै आशंका पैदा गराएको छ । यद्यपि, प्राधिकरणका प्रवक्ता यस्ता गुनासोका सम्बन्धमा नियामक निकायबाट आवश्यक कदम चालिने बताउँछन् ।
सञ्चार मन्त्रालयका प्रवक्ता अनिल कुमार दत्तले दूरसञ्चार प्राधिकरणले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए । ‘ठगी गर्ने छुट कसैलाई छैन । प्राधिकरणले अनुगमन गरी उचित कदम चाल्नुपर्छ,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया