कर्पोरेट

अब हाम्रोपात्रोमै रेमिटेन्स सेवा, खातामा रकम पठाउन सकिने

इकागज |
असोज ८, २०७८ शुक्रवार १५:२९ बजे

काठमाडौं -  हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थपिएको हो । शुक्रबारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् । अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए ।

‘आज १२ बजेदेखि नै हाम्रोपात्रोको रेमिटेन्स सेवा सञ्चालनमा आएको छ,’ उनले भने । हाम्रोपात्रोको आईओएस र एन्ड्रोइड दुवै एपमा नयाँ अपडेटसँगै यो सुविधा थपिएको हो । तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले बताए ।


‘हाम्रोपात्रो एपमार्फत प्रयोगकर्ता आफैँले रकम पठाउन सकिने भएपछि त्यसका लागि हाम्रो ओभरहेड (जनशक्तिमा लाग्ने खर्च) एकदमै कम हुन्छ,’ उनले भने, ‘जसले गर्दा न्यूनतम सेवा शुल्कमा विदेशबाट रेमिटेन्स नेपाल पठाउन सम्भव भएको हो ।

कम्पनीले हाल बजारमा उपलब्ध रेमिटेन्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तो रहेको दाबी गरेको छ । रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर समेत सार्वजनिक गरेको छ । जसअनुरूप दशैं तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रुपमा रेमिटेन्स नेपाल पठाउन सक्नेछन् ।

तत्कालका लागि रेमिटेन्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमा इन्स्टेन्ट (तुरुन्तातुरुन्तै) रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

रेमिटेन्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ । प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ । तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्नेछन् ।


Author

थप समाचार
x