कर्पोरेट

नेपाली बजारमा भित्रिए जोङसेनका मोटरसाइकल र स्कुटर

इकागज |
कात्तिक १६, २०७८ मंगलबार १५:५२ बजे

काठमाडौँ- नेपाली बजारमा जोङसेन ब्रान्डका मोटरसाइकल र स्कुटर भित्रिएका छन्  नेपालका लागि आधिकारिक वितरकको रूपमा रिजोन मोटर्स बिजनेस प्रालिले यी मोटरसाइकल र स्कुटर भित्र्याएको हो । आरएक्स-३ र जेड-वान गरी दुई मोटरसाइकल तथा जेडटी ६ स्कुटर नेपाली बजारमा भित्रिएको छ । यी मोटरसाइकल र स्कुटरको नेपाली बजार मूल्य क्रमश: ६ लाख १९ हजार, २ लाख ७९ हजार र २ लाख ३९ हजार रूपैयाँ तोकिएको छ ।

जोङसेन आरएक्स-३ एड्भेन्चर मोटरसाइकल हो । यसमा २४९.६ सिसीको सिंगल सिलिन्डर फोर भल्व वाटरकुल्ड इन्जिन छ, जसले १८.५ किलोवाट पावर र २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६-स्पिड गियरबक्स जडान गरिएको छ । एड्भेन्चरका लागि उपयुक्त भएकाले यसमा सेगमेन्टकै सबैभन्दा बढी १५ लिटरको इन्धन ट्यांकी छ । ८ सय २० एमएम सिट हाइट भएको यो मोटरसाइकलमा करिब १ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने ४५ लिटर क्षमताको आल्मुनियम बक्स नि:शुल्क उपलब्ध हुन्छ ।


यो मोटरसाइकलमा बीएमडब्ल्युको जस्तै स्लिक बम्पर छ भने फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र मोबाइल चार्जिङका लागि युएसबी पोर्टसमेत छ । २ सय १० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको टप स्पिड १ सय २० किलोमिटर प्रतिघण्टा बताइएको छ भने सिंगल रियर सक, दुवै पांग्रामा डिस्क ब्रेकजस्ता विशेषता उपलब्ध छन् ।

जेड-वान स्ट्रिटबाइक हो र यो विशेष गरी प्रौढ उमेरका ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको छ । यसमा १ सय ८० सिसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ११.५ किलोवाट पावर र १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५-स्पिड गियर बक्स छ । १८ लिटरको इन्धन ट्यांकी भएको यो मोटरसाइकलको टप स्पिड १ सय १० किलोमिटर प्रतिघण्टा छ । यसमा ७ सय ६० एमएमको सिट हाइट छ भने १ सय ६५ एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

जेडटी ६ स्कुटरमा १ सय २५ सिसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ६.८ किलोवाट पावर र ९ एनएम टर्क जेनेरेट गर्छ । ६ लिटरको इन्धन ट्यांकी भएको यो स्कुटरमा अलोय ह्विल, डबल रियर सक, डिजिटल मिटरजस्ता विशेषता छन् ।

दुई पांग्रे सवारी र इन्जिन उत्पादनको लागि चीनका मुख्य ५ कम्पनीहरुमा जोङसेनसमेत पर्छ । ३० वर्षदेखि उत्पादन थालेको जोङसेनले विश्वका ५० भन्दा बढी देशमा मोटरसाइकल बिक्री-वितरण गरिरहेको छ । जोङसेनले प्रयोग गर्ने विभिन्न पार्ट्सका लागि हार्ले र पियाजियोसाग सहकार्य गरेको छ । जोङसेनअन्तर्गतको प्रिमियम ब्रान्ड साइक्लोनले उत्पादन गरेका यी मोटरसाइकल र स्कुटर युरो ४ स्ट्यान्डर्डका छन् ।

७ वर्षसम्मको इन्जिन वारेन्टी प्रदान गरिने रिजोन मोटर्स बिजनेसका म्यानेजिङ डाइरेक्टर खगेन्द्र बस्नेतले बताए । जोङसेनको पहिलो सोरुम सानेपा रिङरोडमा छ भने दोस्रो सोरुम सुर्खेतमा तिहारअगाडि नै खुल्ने बताइएको छ । तिहारपछि बिर्तामोड, धरान, दमक र पोखरा लगायतका सहरमा खुल्ने कम्पनीले जनाएकाे छ ।


Author

थप समाचार
x