उच्च गतिको इन्टरनेट दिन वर्ल्डलिंक र नोकियाबीच साझेदारी
काठमाडौँ - ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनले ग्राहकलाई तीव्र गतिको ‘फोटन सर्भिस सिमलेस होम वाइफाई’ उपलब्ध गराउन ‘नोकिया वाइफाई बिकन मेस एक्सेस प्वाइन्ट’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यस इन्टरनेट सेवामार्फत वर्ल्डलिंकका ग्राहकले ६ सय एमिबिपिएस गतिको इन्टरनेट प्राप्त गर्नेछन्।
नोकिया बिकनमार्फत वर्ल्डलिंकका ग्राहकले काम, अध्ययन र मनोरञ्जनका लागि घरभित्र सिमलेस इन्टरनेट सेवा अनुभव गर्नेछन्। बिकनमा नोकियोका वाइफाई मेस प्रविधि प्रयोग भएकाले भित्री पर्खालहरूबाट हुने अवरोध नहुने हुँदा छिटो र तीव्र गतिको इन्टरने प्रयोग गर्न पाइने कम्पनीले जनाएको छ।
‘कोभिड-१९ महामारीपछि हाम्रा जीवनमा तीव्र गतिको ब्रोडब्यान्डप्रति निर्भरता बढेको छ। नोकियो फिल्ड-प्रुभन बिकनसँगै हाम्रा ग्राहकले भरपर्दो र छिटो इनडोर कभरेजको अनुभव पाउन सक्छन्,’ वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले भने, ‘होम सर्भिलेन्स र होम अटोमेसन जस्ता नयाँ सेवा सञ्चालन गरी ग्राहकको सन्तुष्टि बढाउन सक्षम हुने छौं।’
भारतका लागि नोकियाका इमर्जिङ मार्केट प्रमुख विनिश बावाले नोकिया वाइफाई बिकन राउटर प्रयोग गर्न वर्ल्डलिंकसँग साझेदारी गरी नेपालका ग्राहकलाई तीव्र गतिको इन्टरनेट सेवा दिन पाउँदा उत्साहित भएको बताए।
‘हाम्रो वाइफाई मेस सोलुसनले खर्च घटाएर इनडोर कभरेज गरी तीव्र गति प्रदान गर्न वर्ल्डलिंकलाई थप मद्दत गर्ने छ,’ उनले भने, ‘वर्ल्डलिंकसँग हाम्रो लामो समयदेखि साझेदारी छ र यो पहलले हाम्रो सम्बन्ध थप उचाइमा पुगेको छ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया