कर्पोरेट

टीभीएस रेडर १२५लाई इण्डियन 'मोटरसाइकल अफ दि इयर' उपाधि

इकागज |
फागुन २९, २०७८ आइतबार १२:३७ बजे

काठमाडौँ - टीभीएस ​रेडर १२५ ले इण्डियन मोटरसाइकल अफ दि इयर (आइएमओटीवाइ) उपाधि पाएको छ । मनोनयनमा परेका अन्य प्रतिस्पर्धी  मोटरसाइकललाई पछि पार्दै टीभीएसले सो उपाधि हात पारेको कम्पनीले जनाएको छ । आफ्नो उत्पादन आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्य सम्पादन क्षमता र भारतीय महाद्वीपमा सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको टीभीएसको दाबी छ ।

इण्डियन मोटरसाइकल अफ दि इयर उपाधिमा प्रतिस्पर्धी छनोट तथा घोषणाका लागि १४ सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो । निर्णायक मण्डलका सदस्यहरूमा अटो टूडेका एसोसिएट एडिटर राहुल घोष, अटो टूडेका सिनियर स्पेशल करेस्पोन्डेन्ट दिप्यन दत्ता, अटोएक्सका रोड टेष्ट एडिटर शिवांक भट्ट लगायत सम्मिलित रहेका थिए ।


सन् २००७मा भारतभरका वरिष्ठ तथा कहलिएका अटोमोबाइल पत्रकारहरूको भेला हुँदा आइएमओटीवाइको शुरुवात गर्ने निर्णय संगै यस अवार्डको थालनी गरिएको थियो । ​टीभीएस रेडरले यस वर्ष भारतीय बजारको दुई पाङ्ग्रे सवारी साधनको श्रेणीमै सर्वाधिक बिक्रीसहित अग्रता हासिल गरेको छ । ​

मितव्ययी मूल्यमा अत्याधुनिक फिचर सुसज्जित टीभीएस रेडरले नेपालमा पनि उत्तिकै लोकप्रियता पाइरहेको छ । सन् २०२१ नोभेम्बरमा सार्वजनिक गरिएको यो बाइक युवाहरू माझ अत्यधिक लोकप्रिय छ र नेपालमा पनि उल्लेखनीय संख्यामा बिक्री भइरहेको जगदम्बा मोटर्सले दाबी गरेको छ । 

टीभीएस रेडर १२५ मा मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिंग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायत विशेषताहरू उपलब्ध छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाइट, एंगुलर एलईडी डीआरएलहरू तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई थप आकर्षण प्रदान गरेको छ ।

बजारमा उपलब्ध अधिकांश १ सय ५० सिसीका मोटरसाइकलमा हाल सम्म पनि २ भल्भ इन्जिनको प्रयोग भइ रहँदा यो बाइक भने ३ भल्भ इन्जिनका साथमा बजारमा उपलब्ध गरिएको छ । यो मोटरसाइकलले शून्यदेखि ६० किलो मिटर प्रतिघण्टाको गति जम्मा ५.९ सेकेन्डमा प्राप्त गर्ने क्षमता बोकेको छ ।


Author

थप समाचार
x