उद्यमशीलता विकासका लागि परम्परागत ऐन परिमार्जन अपरिहार्य : ढकाल
रोल्पा - नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका सबै भौगोलिक क्षेत्रमा सम्भावनाको खोजी गर्दै स्थानीयस्तरमा उद्यमशिलताको विकास अपरिहार्य रहेको बताएका छन् । उद्यमशीलता विकास र प्रवर्द्धनका लागि परम्परागत नीतिमा परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै ढकालले परम्परागत कानुन नै उद्यमशीलता विकासमा अवरोधका रुपमा रहेको धारणा राखे।
रोल्पा उद्योग वाणिज्य संघको १८ औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको पदभार ग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, ' निजी क्षेत्रको विकास रोक्ने कानुन परिमार्जन हुनु जरुरी छ ।' अर्थमन्त्री जनार्दन शर्मासमेत उपस्थित रहका कार्यक्रममा ढकालले उद्यमशीलता विकाससँगै रोजगारी सिर्जना र साधन स्रोतको उपयोगका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याए।
वरिष्ठ उपाध्यक्ष ढकालले जिल्ला नगर उद्योग वाणिज्य संघलाई चुनावका बेलामा मात्र सम्झने, भ्रमण गर्ने र चुनाव जितिसकेर बिर्सने प्रवृत्तिबाट आफू मुक्त हुन चाहेको बताए। उनले रोल्पाका व्यवसायीहरुले जिल्लामै रोजगारी बढाउने, स्थानीय साधन स्रोतको उपयोग गर्ने खालका व्यवसाय अघि बनाएमा आफूले निजी क्षेत्रको नेतृत्वका तर्फबाट मात्र नभै आइएमई समूहको अध्यक्ष एवं ग्लोबल आईएमई बैंकको अध्यक्षका रुपमा सहयोग गर्न तयार रहेको बताए।
'हरेक प्रदेशमा कुनै न कुनै व्यवसायमा लगानी गर्ने हाम्रो योजनाअनुसार हाल पोखरा, गैँडाकोट, बुटवल, कर्णाली लगायतका क्षेत्रमा केबलकार लगायतका व्यावसायिक परियोजना अघि बढिरहेका छन्,' उनले भने, 'रोजगारी सिर्जना गर्ने, स्रोतसाधनको उपयोग गर्ने कुनै व्यावसायिक योजना छन् र त्यसका लागि पुँजी पर्याप्तता नभएमा हामी सहकार्य गर्न तयार छौं ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया