नबिल एसइईका लागि सातै प्रदेशमा आवेदन खुल्यो
काठमाडौंँ - नबिल बैंकले सञ्चालन गरेको गैरनाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोसियल आन्टरप्रेरनर्सिप (नबिल एसइई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ । बैंकले सामाजिक उद्यमशिलता प्रवर्धन गर्न संचालन गरिएको नबिल एसइई अन्तर्गतका फेलोसिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन आह्वान गरेको जनाएको छ । फेलोसिप कार्यक्रम भने यसअघि नै शुरु भइसकेको छ । प्रमाणपत्र कार्यक्रमले क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशिलता प्रवर्द्धनलाई जोड दिएको हो ।
मानिसहरुलाई सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने कुनै परियोजनाहरु वा सोचलाई उद्यममा रुपान्तरण गर्न वा विकसित गर्न सहयोग गर्ने बैंकले जनाएको छ । कार्यक्रमका लागि सातवटै प्रदेशका विभिन्न सात कलेजहरूसँग साझेदारी गरिएको बैंकले जनाएको छ । यस साझेदारीबाट एक वर्षमा ७ सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने कार्यक्रमको सोच रहेको बैंकले जनाएको छ ।
आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशिलता प्रवर्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार यस कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले प्रदेश १ को महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस विराटनगर, मधेश प्रदेशको विरगञ्ज पब्लिक कलेज विरगञ्ज, बागमती प्रदेशको काम्पिएन कलेज ललितपुर, गण्डकी प्रदेशको लागि ग्राण्डी इन्टरनेशनल कलेज पोखरा, लुम्बिनी प्रदेशको क्षितिज इन्टरनेशनल कलेज बुटवल, कर्णाली प्रदेशको सुर्खेत मोडल कलेज वीरेन्द्रनगर र सुदुरपश्चिम प्रदेशको सुदूरपश्चिमाञ्चल एकेडेमी धनगढीको कलेज गएर आवेदन दिन सक्ने जनाएको छ ।
आवेदकहरुले पेश गरेको सामाजिक उद्यमको सोच, अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका सहभागीहरुको छनौट गरिनेछ । छनौटमा परेका सहभागीहरुलाई सामाजिक उद्यमशिलता सम्बन्धि विभिन्न विषय वस्तुहरुमा प्रयोगात्मक र व्यवहारिक ढंगले प्रशिक्षणमा सहभागि गराइनेछ । तीन महिनाको प्रशिक्षणपछि सहभागीहरू उद्यमशील सोच र लगानी योग्य व्यवसायिक योजना तयार गर्न सक्ने हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया