सुशासन

गण्डकीमा भ्रष्टाचारका उजुरी वर्षेनी बढ्दै

इकागज |
माघ २८, २०७७ बुधबार २०:१२ बजे

पोखरा : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भीरकोट नगरपालिकाकी सबइन्जिनियर भगवती राउत गत मंसिरमा पक्राउ परिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई ५ हजार घूससहित पक्राउ गर्‍याे । राउतले भूकम्प पुनर्निर्माण लाभग्राहीको घर निर्माणमा रकम निकासा गरिदिएबापत विभिन्‍न बहाना बनाई घूस लिएको बताइएको थियो । त्यसको महिना दिनपछि तनहुँमा २२ पुसमा अर्का सब इन्जिनियर पक्राउ परे । भानु नगरपालिका ५ मैबलस्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय निर्माण गरिएको विवरण दिन सब इन्जिनियर सुरेन्द्र अधिकारीले घूस मागेका थिए । अधिकारी १ लाख ५० हजार घूससहित पक्राउ परेका थिए । 

कास्कीमा भदौ अन्तिम साता घूस लिएको आरोपमा खानेपानी संस्थान विन्धवासिनीका १ कर्मचारी रंगेहात पक्राउ परे । प्रशासन सहायक पदमा कार्यरत कृष्णहरि वाग्लेलाई अख्तियारको टोलीले २५ हजार रुपैयाँसहित पक्राउ गरेको थियो ।  घरमा जडान गरिएको खानेपानीको मिटर बिग्रिएपछि त्यसलाई परिवर्तन गर्न उनले २५ हजार रुपैयाँ मागेका थिए ।


वर्षेनी ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचारसम्बन्धी आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढेको देखाउँछ । २०१९ को प्रतिवेदनले नेपाललाई भ्रष्टाचार हुनेको देशमा १ सय १३ औं स्थानमा देखाएको थियो । २०२० मा भने नेपाल ३ स्थान तल झरेर १ सय १७ औं स्थानमा पुग्यो । यसले नेपालमा भ्रष्टाचार व्याप्त र यसको अवस्था चिन्ताजनक रहेको देखाउँछ । 

नेपालमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी स्थानीय तहमा पर्ने गरेका छन् । गत आर्थिक वर्षमा मात्रै संघीय मामिला मन्त्रालयमा १ सय ७३ मुद्दा परेका थिए । चालु आर्थिक वर्षमा भने यो संख्या बढेर २ सय ६४ पुगेको छ । शिक्षा मन्त्रालयमा चालु आवमा १ सय १८ उजुरी परेका छन् । 

यी घटना सबै स्थानीय तहमा भएका हुन् । अख्तियारको वार्षिक प्रतिवेदनले स्थानीय तहमा भ्रष्टाचारका मुद्दा बढिरहेको देखाउँछ । सबैभन्दा बढी उजुरी प्रदेश २ बाट ४ हजार ९४ उजुरी परेका छन् भने बागमती प्रदेशबाट ३ हजार ७ सय २ उजुरी परेका छन् । गण्डकीबाट भने १ हजार १० उजुरी परेका छन् । गण्डकी प्रदेशमातहत निकायविरुद्ध २०७६/७७ मा ६ सय ६८ मुद्दा परेको अख्तियारको वार्षिक प्रतिवेदन देखाउँछ । अख्तियारले २०७६/७७ मा ४ सय ४१ मुद्दा विशेष अदालतमा दायर गरेको छ । यो संख्या २०७५/७६ मा ३ सय ५१ थियो ।  
 
प्रदेशका मन्त्रालयमा हेर्ने हो भने गण्डकीमा सबैभन्दा बढी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ३१ उजुरी परेका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा १९, सामाजिक विकास मन्त्रालयमा १६, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा १४ उजुरी छन् । अख्तियारको पोखरा कार्यालयमा उजुरीको संख्या दिनहुँ बढ्दो देखिन्छ । सार्वजनिक स्रोतको दोहन र सोबापत प्राप्त राजस्व हिनामिनाका बढी उजुरी अख्तियारमा आउने गरेको अख्तियार पोखरा कार्यालयका प्रमुख विपीन आचार्यले बताए । यस्ता उजुरी कास्की, तनहुँ र पर्वतबाट बढी आउने गरेको आचार्यको भनाइ छ । अख्तियारको पोखरा कार्यालयमा सबैभन्दा बढी कास्कीका उजुरी दर्ता भएका छन् । यो आर्थिक वर्षमा १ सय ५२ उजुरी दर्ता हुँदा तनहुँबाट ३५ र स्याङ्जाबाट ३३ उजुरी दर्ता भएको आचार्यले जानकारी दिए । 


Author

थप समाचार
x