अदालत

जबराविरुद्धको महाअभियोगः सिफारिस समितिले आफ्नो काम थाल्यो

इकागज |
भदौ १, २०७९ बुधबार १४:५१ बजे

फाइल फोटो

काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छानबिन गर्न गठन भएको महाअभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले छानबिनका लागि कार्यविधि र कार्यतालिका बनाउने निर्णय गरेको हो । अर्को बैठकमा समितिको कार्यविधि र कार्यतालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ ।


बैठकमा समिति सदस्यहरुले महाअभियोग प्रक्रिया छिटो भन्दा छिटो टुंग्याउनुपर्ने धारणा राखेका थिए । एमालेका सांसद कृष्णभक्त पोखरेलले १ महिनाभित्रमा नै टुंगोमा पुग्ने गरि काम गर्नुपर्ने बताए । उनले महाभियोगको बिषयमा एमाले तटस्थ रहेको दाबी गरे । 

त्यस्तै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले महाअभियोग प्रस्ताव र अरु दस्तावेजमाथि अध्ययन गरेर छलफललाई तीब्रता दिनुपर्ने धारणा राखे । उनले एक महिनापछि चुनावमा केन्द्रित हुनुपर्ने भएकाले छोटोमा काम सक्ने गरी कार्यविधि बनाउनुपर्ने सुझाव दिए । 

त्यस्तै माओवादी सांसद यशोदा गुरुङ सुवेदीले समितिमा कुनै विवाद नगरि समयमा नै निष्पक्ष छानविन गर्नुपर्ने बताए । प्रतिनिधिसभामा महाभियोग दर्ता भएको ६ महिनापछि समितिले काम सुरु गरेको हो ।  साउन २२ गते बसेको प्रतिनिधिसभा बैठकले जवराविरुद्धको महाअभियोगलाई सिफारिस समितिमा पठाएको थियो । 


Author

थप समाचार
x