अदालत

चोलेन्द्रले पोलेकालाई बोलाउँदै महाअभियोग समिति

इकागज |
भदौ २९, २०७९ बुधवार ८:२३ बजे

फाइल तस्बिर

काठमाडौँ- महाभियुक्त निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा पोलेका व्यक्तिहरूलाई ‘प्रतिवाद’ गर्न महाभियोग समितिले आज पत्र पठाउने भएको छ । त्यस निम्ति समितिको बैठक बुधबार बिहान ९ बजे बैठक बस्दैछ ।

समिति सदस्य मिन विश्वकर्माले ९ बजेको बैठकबाट राणाले पोलेका व्यक्तिहरूमध्ये क–कसलाई बोलाउने भन्ने तय गर्ने जानकारी दिए । ‘त्यसरी पोलेका व्यक्तिहरू सबै आउँछन् कि आउँदैनन् थाहा छैन’ विश्वकर्माले इकागजसँग भने, ‘हामी पत्रमा राणाले बयान दिने क्रममा तपाईंको नाम पनि प्रशंगवश उल्लेख गर्नु भएको हुँदा त्यसमा धारणा प्रस्तुत गर्ने, प्रतिवाद गर्ने या सफाइ दिन इच्छा छ भने यति समयसम्म समितिमा उपस्थित हुन सक्नु हुनेछ उल्लेख गरिनेछ ।’


त्यसपछि आज दिउँसो उनीहरूलाई पत्राचार गरिनेछ र बिहीबारको बैठकमा उपस्थित हुन आग्रह गरिनेछ । प्रतिनिधि सभाको बैठक आज ११ बजे बस्‍दैछ । बिहान बैठक सकेर सदनमा जाने र सदन सकिएपछि फेरि समितिको बैठक बसाउने कार्यतालिका छ ।

प्रतिनिधि सभाको कार्यकाल अन्त्य हुन केही दिनमात्र बाँकी हुँदा समितिले हतारमै सबै काम सक्दैछ । समिति सदस्य विश्वकर्माका अनुसार, यतिखेर समितिले त्रिपक्षीय काम गरिरहेको, छ एकातिर बयान पनि लिइरहेको छ संकलित प्रमाणको परीक्षण गरिरहेको छर सँगसँगै प्रतिवेदन पनि तयार गरिँदैछ ।’

महाभियुक्त राणाले आफूविरुद्ध लागेका अभियोगभन्दा बाहिरका व्यक्तिलाई पोलेपछि तिनीहरूलाई पनि प्रतिवाद निम्ति बोलाउनुपर्ने अवस्था सिर्जना भएको हो । राणाले महाभियोग समितिमा आफूमाथि लागेका अभियोगमा बुँदागत जवाफ दिनुको सट्टा असान्दर्भिक तथा असामयिक व्यक्तिहरूमाथि आरोप थोपरेका थिए ।

अझ उनले प्रतिनिधि सभा पुन:स्थापनाको हकमा त विघटनका सिफारिसकर्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मासँगै परामर्श गरेको अभिव्यक्ति दिएका थिए । राणाले कार्यकारिणी प्रमुखलाई न्यायालयको स्वतन्त्रता हरण गर्न आमन्त्रण गरेको सवाललाई महाभियोगका निम्ति दरिलो प्रमाण हो ।

समितिले यही प्रतिनिधि सभाकालमा प्रतिवेदन बुझाउने उद्देश्यसहित काम गरिरहेको छ । तर, संसद्‌बाटै महाभियोगमा टुंग्याउन चाहिँ यो कार्यकालमा सम्भव देखिँदैन । ‘हामी समितिबाट सकेसम्म सर्वसम्मत् नसके बहुमतका आधारमा भए पनि प्रतिवेदन पास गर्नेछौं’ महाभियोग समिति सदस्य विश्वकर्माले भने ।

तर, सदनबाट पारित नभएको खण्डमा के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘कुनै पनि इजलासमा मुद्दा हेर्दा हेर्दै न्यायाधीशको सरुवा भयो वा अवकाशमा गयो भने मुद्दा त रहन्छ नै । अर्को न्यायाधीश आएपछि मुद्दा हेर्छ ।’ समितिबाट महाभियोग प्रस्ताव पारित गर्ने र निर्णय लिन प्रतिनिधि सभाको अर्को कार्यकाललाई छाड्ने सम्भावना देखापरेको छ । प्रतिनिधि सभाको अर्को कार्यकाल सुरु भइसक्दा उमेरका कारण राणा निलम्बित अवस्थामै अवकाशमा गइसक्छन् ।


Author

थप समाचार
x