अदालत

गृहमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै

इकागज |
पुस २२, २०७९ शुक्रबार ११:१६ बजे

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ हुने भएको छ । 

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा उपप्रधानमन्त्री लामिछानेको नागरिकताको वैधानिकतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ हुन लागेको हो । 


यसअघि ६ पुसमा लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । शुक्रबार पेसी चढेसँगै रिटमाथि सुनुवाइ हुने भएको हो । 

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।

अधिवक्ता युवराज पौडेल र अधिवक्ता रविराज बसौलासमेतले राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हुन् ।


Author

थप समाचार
x