अदालत

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ आज

इकागज |
फागुन २५, २०७९ बिहीबार ८:५७ बजे

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीलगायतले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । आरण कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउगरी अनुसन्धान गर्न माग गर्दै रिट दायर भएको थियो । 


सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) निर्णय गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि प्रचण्डविरुद्ध रिट दर्ता भएको थियो । 

अदालतमा न्यायाधीशहरूले गोलाप्रथामार्फत् मुद्दा छान्ने हुँदा कसको इजलासमा मुद्दाको सुनुवाइ हुन्छ भन्ने बिहान साढे १० बजे पछि जानकारी हुनेछ ।
 


Author

थप समाचार
x