अदालत

शम्भु थापाको प्रश्‍न : राष्ट्रपतिलाई संसद्‍मा के भइरहेको छ थाहा हुँदैन ?

इकागज |
असार ९, २०७८ बुधबार १६:४८ बजे

वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक प्रश्‍न राजनीतिज्ञले नभई संविधानले जन्माउने बताएका छन् ।  संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहसमा भाग लिँद थापाले भने, 'राजनीतिक प्रश्न भनेको राजनीतिज्ञले गर्ने होइन। संविधानले जन्माउने हो ।'

उनले प्रश्न गरे, 'कार्यकारिणी जन्माउने राष्ट्रपतिले होकि संविधानले हो ?'  


उनले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न गरे । 'हाम्रो राष्ट्रपति यति कमजोर । एउटा पत्र पुग्यो भने हस्ताक्षर गर्ने ? संसद्‍मा के भइरहेको छ, थाहा हुँदैन ? हाउसलाई जिवित राख्न विश्वासको मत लियो कि लिएन पहिला सोध्नुपर्‍यो । हाउसलाई पहिले अपिल खै ?,' उनले प्रश्न गर्दै भने, 'सांसदकाे संसद्मा मतदान गर्ने अधिकार तपाईंले काट्न पाउनुहुन्न । संसदीय दलभित्र तपाईं पस्ने कसरी हो ? तपाईंले गरेको अधिकारको प्रयोग मात्रै हेर्ने हो । प्रयोगको तरिका मिलेन ।'

थापाले राष्ट्रपतिले विघटनबाहेक केही नगरेको पनि जिकिर गरे । '०६५ देखि ०७२ सम्म राष्ट्रपतिलाई कुनै अधिकार थिएन । हामीले सेरेमोनियल भयङ्कर भन्छौं । उहाँ नाम मात्रकै राष्ट्रपति । अमेरिकाको पनि राष्ट्रपति, भारतको पनि राष्ट्रपति । राष्ट्रपति पनि धेरै खालको हुन्छ । हाम्रो चाहिँ के हो के हो । यसो गर्‍यो विघटन, उसो गर्‍यो विघटन,' उनले भने, 'प्रधानमन्त्री छान्ने त एकलौटी अधिकार राष्ट्रपतिमा मात्रै निहित छ जस्तो भयो ।'

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके बहुमतमा जाने व्यवस्था संविधानमै भएको थापाको जिकिर छ । 'बहुमतमा भएन भने मार्गप्रशस्त गर्ने भन्नेछ । विश्वासको मत प्राप्त गर्ने बलियो आधार प्रस्तुत गर्ने' भन्या छ । यो सबै प्रक्रिया पूरा गर्ने अधिकार राष्ट्रपतिलाई मात्रै निहित छैन । प्रतिनिधि सभाले पनि त्यो प्रक्रिया पूरा गर्नुपर्छ' बहसमा भागलिँदै थापाले भने ।   


Author

थप समाचार
x