अदालत

१९ लाख रुपैयाँ बुझाएर जलजलाका अध्यक्ष भन्छन्:

‘अदालतको मिलेमतोमा फसाउन खोजियो’

अनिष भट्टराई |
भदौ ३, २०७८ बिहीबार १९:८ बजे

 पोखरा - कास्की जिल्ला अदालतले जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई पक्राउ पुर्जी काटेपछि मल्लले भुक्तानी गर्नुपर्ने रकम बुझाएका छन् । ठगी मुद्दामा पक्राउ गरेर कारागार चलान गर्न अदालतले पर्वत प्रहरीलाई पत्र लेखेपछि अध्यक्ष थापाले बिहीबार १९ लाख रुपैयाँ व्यवसायी ध्रुवबहादुर थापालाई बुझाएका हुन् । हिमालयन इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिका थापा र गाउँपालिका अध्यक्ष मल्लबीचको लेनदेन विवाद अदालत पुगेको थियो ।

जिल्ला अदालतले चैत २७ गते मल्लाई लेनदेन मुद्दामा ६ महिना कैद सजाय सुनाएको थियो । गाउँपालिका अध्यक्ष मल्ललाई ४ महिना बितिसक्दा पनि पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला पत्र लेखी पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिएको थियो । व्यवसायी थापाले आफूलाई अध्यक्ष मल्लले भेटेर १९ लाख रुपैयाँ बुझाएको बताए । ‘मलाई भेटेर नै १९ लाख बुझायो ।


'बुधबार नै बुझाउँछु भन्दै थियो । पब्लिक पोर्टफोलियोमा बसेको भएर बढी इस्यु बन्यो, अहिले मिलापत्र गरिसक्यौं,’ उनले भने । मल्ल नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेता हुन् । निर्माण व्यवसायीसमेत रहेका उनी आगामी महाधिवेशनमा जिल्ला सभापतिका दावेदार हुन् । आफूलाई आसन्न कांग्रेस महाधिवेशनमा सभापति लड्न नदिने गरी ‘इस्यु’ बनाएर बद्नाम गर्न खोजिएको मल्लको प्रतिक्रिया छ ।

‘म त सामाजिक मान्छे । अब सभापति लड्ने मान्छे हुँ । मलाई बदनाम गर्न बाहिरि मान्छे मिलेर लागे,’ उनी भन्छन् । आफू सामाजिक व्यक्ति भएकाले समाजमा सहयोग गर्ने क्रममा फसेको उनले बताए । ‘सामाजिक व्यक्तित्व हुँ । सहयोग गर्दा पनि फस्ने समय आएछ,’ उनले थपे । अदालतको मिलेमतोमा आफूलाई फसाइएको भन्दै मल्ल आक्रोशित बने । अदालतले जे गरेपनि हुन्छ भन्ने सोचले आफूविरुद्ध फैसला गरि सूचना समेत नदिएको उनको आरोप छ ।

‘अदालतले सबै कुरा खुलाउनुपथ्र्यो किन पक्राउ गर्ने भनेर । मिलेमतो छ । जानकारी गराउनुपर्‍यो नि, पुनरावेदन दिनुपरे म्याद हुने रहेछ, सूचना लुकाए,’ उनले थपे, ‘अदालतले के के गर्छ, हेरौ त जे गरेपनि पाइने रहेछ । आफ्नो तरिकाले निर्णय गरेर जेल हाल भन्नु कतिको जायज हो ?’

के हो घटना ?

बागलुङका राजेश बोहरा (यातायात व्यवसायी)ले किनेको मिनी माइक्रोको रकम तिर्न नसकेपछि कम्पनीले उनलाई डाक्छ । कम्पनीले माइक्रो लगिदिएपछि बोहरा यामबहादुर कहाँ पुग्छन् । यामबहादुरका अनुसार आफूसँग बोहराले रोइकराइ गरेपछि त्यो गाडीको तिर्नुपर्ने १० लाख १७ हजार रुपैयाँकोे जमानी बसिदिन तयार हुन्छन् । ‘मसँग बोहराले आएर भनेपछि मैले जिम्मा लिएँ । व्यवसायीले व्यवसायीको पिडा बुझ्नुपर्छ भनेर उसको दुखमा मैले हेरिदिएँ,’ मल्लको दाबी छ ।

पछि मल्लले जमानी बसेपछि गाडीको रुट खरिद गर्छन् । धौलागिरी यातायात बस व्यवसायी समितिमा ४ लाख बुझाएर मल्लले रुट खरिद गरे । मल्लले रुट खरिद गरेर गाडी राखेपछि गाडीको पैसा आफैं तिरिदिने सम्झौता बोहोरासँग गरे । तर कम्पनीलाई बुझाउनुपर्ने रकम भने बुझाएनन् । गाडी कम्पनीले लगातार ताकेता गर्दागर्दै पैसा नबुझाएपछि भने अदालती प्रक्रिया सुरु भएको हो । ‘बोहोरासँग उसैले (यामबहादुर) जिम्मा लियो । लोन ट्रान्सफर भयो । उसलाई लगातार ताकेता गर्दापनि पैसा नतिरेपछि अदालती प्रक्रियामा गयौं,’ व्यवसायी ध्रुव थापाले भने ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x