अदालत

सर्वोच्च अदालतमा आन्दोलन

देशभरका अदालतमा बहस बन्द गरेर विरोधसभा गर्ने बारको निर्णय

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै थप आन्दोलनका कार्यक्रम घोषणा

विष्णु विश्‍वकर्मा |
मंसिर ३, २०७८ शुक्रबार २१:३२ बजे

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दा प्रहरी र सशस्त्र प्रहरी लगाएर कानुन व्यवसायीमाथि नै बल प्रयोग गरेपछि कानुन व्यवसायीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शुक्रबार रामशाहपथस्थित नेपाल बार एशोसिएसनमा बसेकाे बारकाे पदाधिकारी बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । बैठकमा बार र सर्वोच्च बारका सल्लाहकार समितिका सदस्य समेत उपस्थित थिए ।

आइतबारदेखि बारले देशभरका अदालतमा बहस तथा पैरवी बन्द गर्ने निर्णय गरेको छ । यद्यपी बन्दीप्रत्यक्षीकरणका मुद्दामा भने बहस हुनेछ । त्यसबाहेक सम्पूर्ण बहस पैरवीको काम बन्द गरेर आइतबार देशभरका सबै अदालत अगाडि विरोध प्रदर्शनका कार्यक्रम गरिने निर्णय भएको बारका महासचिव लीलामणि पौडेलले इकागजसँग बताए ।


सर्वोच्च अदालत परिसरभित्र हतियारसहित प्रहरी र सशस्त्र प्रहरी लगाएर कानुन व्यवसायीमाथि धरपकड गरेर आन्दोलन दबाउने प्रयास प्रधानन्यायाधीश राणाले गरेको भन्दै बार थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको महासचिव पौडेलले बताए । सर्वोच्च अदालत प्रशासनको प्रहरी लगाएर गरेको बल प्रयोगलाई बारले ‘दंगा प्रहरी’को संज्ञा दिएको छ ।

यस्तै बारले सोमबार अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकमा बहस तथा पैरवी बन्द कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौँका सबै राजनीतिक दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाएर प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउन माग गर्ने निर्णय गरेकाे छ ।

यस्तै मंगलबार बारले देशभरका अदालतमा अन्तिम हदम्याद मुद्दा बाहेक सबै मुद्दाको बहस नगर्ने निर्णय गरेको छ । अदालतमा दर्ता हुने अरु मुद्दा दर्ता नगर्ने र बहस पनि नगर्ने बारको निर्णय छ ।

यस्तै बारले बुधबार देशभरका १८ वटा उच्च अदालत अगाडि विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । सो विरोध प्रदर्शनलाई सम्बोधन गर्न बारका केन्द्रीय पदाधिकारी जिल्‍ला जिल्‍ला जानेछन् । यस्तै बिहीबार र शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन गर्ने बारको निर्णय छ ।

सर्वोच्च अदालत परिसरभित्रै विरोध प्रदर्शन चर्काएर प्रधानन्यायाधीश राणालाई राजीनामा गराउने बारको निर्णय छ । न्यायापालिकाको निष्पक्षतामाथि प्रश्न उठ्ने र विचलन ल्याउने प्रधानन्यायाधीश राणाले अधिकारको दुरुपयोग गरेर मन्त्रिपरिषद्मा भागबण्डा खोज्ने, संवैधानिक नियुक्तीमा आफ्ना मान्छेलाई नियुक्ती दिलाउने, दलका नेताहरुसँग ‘बार्गेनिङ’ गरेको भन्दै बारले कात्तिक १४ गतेदेखि आन्दोलन गरिरहेको छ ।

यति विरोध प्रदर्शन चर्काउँदा पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिए ‘सडक ठप्प पार्ने’सम्मको आन्दोलनका कार्यक्रम तय गरिने पनि बारका महासचिव पौडेलले चेतावनी दिए । ‘यति विरोध गर्दा पनि राजीनामा आएन भने सडक ठप्प पार्छौै,’ उनले इकागजसँग भने ।


Author

थप समाचार
x