अदालत

मतदान स्थलको निरीक्षण गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

इकागज |
बैशाख ३०, २०७९ शुक्रवार ११:५३ बजे

फाइल फोटो

काठमाडौँ - पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरुको टिमले काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान स्थलको अवलोकन गरेको छ । 

पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदान स्थलहरुको अनुगमन गरिरहेको हो । सो क्रममा रत्नराज्य मावि पुगेको पर्यवेक्षकहरुको टीमले त्यहाँको मतदान स्थल र मतदाताहरुको गुनासोका बारेमा सम्बोधन गर्न मतदान केन्द्रको निरीक्षण गरेको जनाएको छ । 


मतदान स्थलको अवलोकनपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले अन्य स्थानहरु भन्दा मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा धेरै मतदाताहरुको उपस्थिति रहेको पाइएको बताए । 

धेरै मतदाताहरु भएकोले मतदान प्रक्रियामा ढिला भएको उनले बताए । मतदानका लागि ज्येष्ठ नागरिकहरुलाई धेरै समय लागेकोले पनि मतदान प्रक्रियामा ढिलाइ भएको उनको भनाइ छ ।

पर्यवेक्षक श्रेष्ठले भने, ‘यो मतदाता धेरै भएको ठाउँ रहेछ । मतदाताहरुले धेरै समय कुर्नुपर्ने भयो भन्ने गुनासो गरेका छन् । मैले बुझ्दा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिँदा समय लागेको भन्ने आएको छ ।’

पर्यवेक्षक श्रेष्ठले केही मतदान केन्द्रमा मतदान गर्ने क्रममा ढिलाइ भइरहेको गुनासो मतदाताहरुले गरेको पनि बताए । उनले ज्येष्ठ नागरिकहरुलाई पहिला पालो दिँदा केही समय ढिला भएको भएपनि मतदान अधिकृतहरुले यस समस्यालाई चाँडै समाधान गर्ने बताएको जानकारी दिए । 

स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । निर्वाचनमा भयरहीत र निष्पक्ष रुपमा सहभागी भइ मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।  


Author

थप समाचार
x