कोभिड-१९

सुदूरपश्‍चिममा कोभिड संक्रमण बढ्दै

इकागज |
असार ९, २०७९ बिहिवार २१:४८ बजे

सुदूरपश्‍चिम- सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड १९ को संक्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोभिड १९ को संक्रमणदर घट्दै गएकामा पछिल्ला केही दिनदेखि संक्रमण बढ्न थालेको हो ।

पछिल्ला दुई दिनमा थप १२ जनामा कोभिडको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । निर्देशनालयको तथ्यांकमा गएको २४ घण्टामा नौ जनामा यो रोगको संक्रमण भएको उल्लेख छ ।
  
कोभिड १९ को आशंकामा बुधबार ३५९ जना र आज बिहीबार ३२८ जनाको नमूना परीक्षण गरिएको थियो । पछिल्ला दिनमा यो रोगको संक्रमण दर केही बढे पनि फागुनयता रोगले हुने मृत्युदर भने शून्य छ ।
   
छिमेकी देश भारतमा यो रोगको संक्रमण बढेसँगै नेपालमा पनि यो रोगको संक्रमण बढ्ने जोखिम देखिएको सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीको भनाइ छ ।
  
सीमा नाकामा रोकथामका लागि गर्नुपर्ने सतर्कतामा लापरबाही भइरहँदा यो रोगको संक्रमण बढ्न थालेको बताइएको छ । सीमा नाका हुँदै भित्रिनेको नमूना परीक्षणको कामलाई प्रभावकारी बनाउँदै संक्रमण फैलिन नदिन आवश्यक व्यवस्था गर्नुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
  
सुदूरपश्‍चिम प्रदेशका विभिन्‍न सीमा नाकाबाट बुधबार ६६४ र आज  ५८७ जना नेपाल भित्रिएको जनाइएको छ । सीमा नाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र एन्टिजेन विधिबाट नमूना परीक्षण हुने गरेको छ ।
 
प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये अधिकांशले पूर्ण मात्राको खोप पाइसकेको निर्देशनालयले जनाएको छ । पछिल्ला दिनमा कोभिडविरुद्धको खोप नपाएका बालबालिकालाई खोप दिन सुरू गरिएको छ ।



Author

थप समाचार
x