कोभिड-१९

कोभिड-१९ संक्रमितको ‘जिन सिक्वेनसिङ’ गरिने

इकागज |
साउन २०, २०७९ शुक्रबार १८:४ बजे

काठमाडौँ- कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले कोभिड-१९ को नयाँ भेरियन्टका सन्दर्भमा अध्ययन गर्न संक्रमितको ‘जिन सिक्वेनसिङ’ गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको सिसिएमसीका पदाधिकारीको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका सबै व्यक्ति तथा आइसियु र एचडिसियुमा रहेका बिरामीमध्ये प्राविधिक रुपले सम्भव भएसम्म कोभिड भाइरसको ‘जीन सिक्वेन्सिङ’ गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।


यस्तै बैठकले होम आइसोलेनसमा रहेका व्यक्तिका बारेमा मन्त्रालयसहित प्रदेश र स्थानीय सरकारबाट अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको सहसचिव शङ्कर नेपालले जानकारी दिए ।

उनका अनुसार उक्त बैठकमा कोभिड-१९ संक्रमणको पछिल्लो अवस्थाबारे समीक्षा गरिएको थियो । संक्रमण दर बढ्दो क्रममा रहे पनि अस्पतालमा भर्ना दर न्यून रहेको तथा कोभिडबाट मृत्यु भएका व्यक्तिको अध्ययन गर्दा अन्य गम्भीर प्रकारका रोगसमेत लागेको पाइएको बैठकमा जानकारी गराइएको थियो । 

बैठकले कोभिड-१९ संक्रमितको उपचारका लागि अस्पतालमा शय्या संख्या, आइसियु तथा भेन्टिलेटरको पर्याप्त व्यवस्था रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको तर कोभिड-१९ प्रति अझै सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको छ । संक्रमणबाट बच्नका लागि जनस्वास्थ्यका सबै मापदण्डको पालन गर्न नागरिकमा अनुरोध पनि गरिएको छ । 

साथै बैठकले सिंहदरबार एवं भिडभाड हुने सरकारी निकायमा मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गरेको र मास्क लगाए/नलगाएको सन्दर्भमा सिंहदरबारभित्र गृह मन्त्रालयल र अन्य सरकारी निकायमा सम्बन्धित निकायका प्रमुखबाट अनुगमन गर्ने निर्णय पनि गरेको छ । 

निर्माण सम्पन्न भएका होल्डिङ सेन्टरको सञ्चालनका लागि तर्जुमा गरिएको सञ्चालन कार्यविधिको मस्यौदा​ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।  


Author

थप समाचार
x