कोभिड-१९

कोभिड–१९ संकट

सर्बिया : जहाँ प्रधानमन्त्री र मन्त्रीहरूले छुट्टाछुट्टै स्रोतबाट खोप जुटाए

इकागज |
बैशाख २४, २०७८ शुक्रवार ७:२७ बजे

काठमाडौँ : यतिबेला विश्वभर औसत १०० जना व्यक्तिमध्ये १६ जनाका लागि खोपको प्रबन्ध हुनसक्छ । तर दक्षिण पूर्वी युरोपको एउटा सानो राष्ट्र सर्बियाले आफ्नो देशका ५१ प्रतिशत जनसंख्याका लागि कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध गरिसकेको छ । त्यहाँ २९ प्रतिशत जनसंख्याले पहिलो डोज खोप लगाइसके भने २२ प्रतिशतले पूर्ण रूपमा खोप लगाइसके । 

सर्बियामा पछिल्लो तीन सातादेखि कोभिड–१९ का नयाँ संक्रमितहरूको संख्या हरेक दिनजसो १,७०० ले घटिरहेको छ । हालसम्म सर्बियामा कोरोना भाइरसबाट ६ लाख ९५ हजार ८ सय ७५ संक्रमित भएका छन् भने ६ हजार चार सय ७८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । सर्बियामा अहिले दैनिक नयाँ संक्रमितहरूको संख्या एक हजार चार सय १९ छन्, जुन संख्या डिसेम्बर ४, २०२० मा अहिलेसम्मकै उच्च संक्रमितहरूको संख्याको २० प्रतिशत मात्र हो । 
सर्बियाको रणनीतिक खोप व्यवस्थापनको नीतिले आफ्नो ठूलो जनसंख्यालाई खोप लगाउन सम्भव भएको हो । अमेरिकामा पढेकी सर्बियाका प्रधानमन्त्री आना बर्नाबिक फाइजर–बायोएनटेक खोप आफ्नो मुलुकमा ल्याउने युरोपकै पहिलो नेता हुन् । रूस मैत्री आन्तरिक मामिला मन्त्रीले रूसबाट पनि केही जनसंख्याका लागि पुग्ने स्पुतनिक फाइभ खोप भित्र्याए अनि स्वास्थ्य मन्त्रीले चीनको सिनोफार्मसँग खोप भित्र्याउने डिल गरे । यिनीहरूको चलाखी र कौशलका कारण धेरै सर्बियाली नागरिकहरूमा खोपको पहुँच पुगेको छ । 


यतिबेला युरोपमा धेरै जनसंख्यालाई खोप लगाउने मुलुकहरूको सूचीमा सर्बिया पनि अगाडि छ । यद्यपि, सर्बिया खोपको उत्पादक होइन । सीमित खोप उत्पादक कम्पनीहरूले धेरै देशलाई खोप उपलब्ध गराउनुपर्ने भएकाले एउटै स्रोतबाट सबै जनसंख्यालाई पुग्ने खोप प्राप्त गर्न कठिन छ । यस्तो परिस्थितिमा सर्बियाली प्रधानमन्त्री, आन्तरिक मामिला मन्त्री र स्वास्थ्य मन्त्रीले छुट्टाछुट्टै स्रोतबाट आफ्ना नागरिकका लागि खोप ल्याउने प्रबन्ध गरे । जसका कारण त्यहाँ कोभिड–१९ बाट उत्पन्न क्षति क्रमशः न्यूनीकरण हुँदै गएको छ ।

आफ्ना नागरिकको स्वास्थ्यका लागि खोप खरिदमा सर्बियाले अपनाएको ‘सर्वहारी’ नीतिप्रति अहिले धेरै देशहरूको चासो थपिएको छ । बीबीसीसँगको एउटा अन्तर्वार्तामा सर्बियाली प्रधानमन्त्री आना बर्नाबिकले भनेकी छिन्, ‘खोप जहाँसुकैबाट आओस्; चीन, अमेरिका वा युरोपेली संघ । यदि तिनीहरू सुरक्षित छन् र छिटो प्राप्त हुनसक्छन् भने कहाँबाट आउँछ भन्ने विषय प्रधान होइन ।’ उनले नागरिकको जीवन रक्षाका लागि ल्याइने खोप सर्बियाका लागि भू–राजनीतिको विषय नभएको बताएकी छिन् । 

प्रधानमन्त्रीले फाइजर (अमेरिका)सँग समन्वय गरिन् । आन्तरिक मामिला मन्त्रीले  गामालिया सेन्टर (रूस)सँग र स्वास्थ्यमन्त्रीले सिनोफार्म (चीन) सँग नेगोशिएसन गरेर सर्बियाली नागरिकलाई कोभिड १९ विरुद्धको खोपको प्रबन्ध गरे । 

पश्चिमी बल्केन्स देशहरू खोप आपूर्तिको व्यवस्था मिलाउन संघर्षरत रहेको अवस्थामा सर्बियाको यो व्यवहारिकताले खोप अभियानमा निकै आकर्षक देखिएको छ ।। उनीहरू युरोपियन युनियन र खोपका लागि विश्वव्यापी सहकार्य (कोभ्याक्स) मा निर्भर देखिन्छन् । तर सर्बिया भने फरक रणनीतिका साथ अघि बढ्यो । 
सर्बियाली प्रधानमन्त्री आना बर्नाबिक कोभिड–१९ महामारी नियन्त्रणको विषय भूराजनीतिक हुन नसक्ने धारणाप्रति दृढ छिन् । बेलग्रेड (सर्बियाली राजधानी) को बेइजिङ (चीन) र मस्को (रुस)सँगको हार्दीकतापूर्ण सम्बन्धकै कारण सर्बियाले खोप प्राप्त गरेकोमा युरोपका अन्य देशले इष्र्या मात्र गर्न सक्छन् । ‘हामीले फाइजरबाट दश लाख डोज खोप पाएकोमा त्यत्तिकै खुसी छौं,’ प्रधानमन्त्री अनाले बीबीसीसँगको अन्तर्वार्तामा भनेकी छिन्, ‘तर यो सबै हाम्रो विदेश नीतिको उपज हो, यो एउटा स्मार्ट उपाय पनि हो र यसमा हामीले जेजति उपलब्धि हासिल गर्‍यौं, त्यसमा मलाई गर्व छ ।’

सर्बिया युरोपियन युनियनमा प्रवेशका लागि पहल गरिरहेको छ । सर्बियाले युरोपियन युनियनको सदस्य बन्नका लागि २२ डिसेम्बर २००९ देखि नै पहल गरेको हो । अहिले ‘नेगोशियसन अघि बढीरहेको छ । सन् २०२४ को अन्त्यसम्म सबै ‘नेगोशियसन’ टुंग्याएर, सन् २०२६ देखि सर्बिया युरोपियन युनियनको सदस्य बन्न सक्छ । ‘हामी युरोपियन युनियनका सदस्य होइनौं, तर युरोपियन युनियनसँग हाम्रो ऐक्यवद्धता छ । हामीले युरोपियन युनियनबाट यसका सदस्यहरूका लागि प्रबन्ध भैसकेपछि खोप प्राप्त गर्ने निश्चित थियो,’ उनले भनेकी छिन्, ‘यो युरोपियन युनियनको सदस्य नहुदाँको घाटा पनि हो, युरोपियन युनियनको सदस्यता प्राप्त गर्नेमा हाम्रो सरकारले ध्यान केन्द्रित गरेको छ ।’

तर विद्यमान संकटको समयमा खोपका लागि ब्रसेल्स (युरोपियन युनियनको मुख्यालय) मा मात्र भर नपरेर आफ्नो विदेश नीतिको उपयोग गर्नु सर्बियाको बुद्धिमानी कदम प्रमाणित भएको छ । सर्बियाको सार्वजनिक प्रशासनले खोप खरिद प्रक्रियामा अघि बढाएको कार्यदक्षताले सबैको ध्यान खिचेको छ । सर्बियाकै पदचाप पछ्याउँदै युरोपियन युनियनभित्रको हंगेरीले पनि चिनियाँ र रूसी खोप खरिद गरेको छ । अरूले पनि यस्तै उपाय अपनाउन सक्ने देखिन्छ । यतिबेला एकपटक प्रभावकारी खोप अभियान कार्यान्वयन गरेर सर्बिया सिंगो महादेशका लागि एउटा उदाहरण भएको छ । 
(सर्बियाको खोप अभियान बारेको यो विश्लेषण द न्यूयोर्क टाइम्स, रोयटर्स र बीबीसीले प्रकाशित गरेको सामग्रीहरूका आधारमा तयार परिएको हो) 
 


Author

थप समाचार
x