कोभिड-१९

कोभिड महमारी

उपचार छाडेर अक्सिजन खोज्न हिड्छन लुम्बिनीका डाक्टर

बेड खोज्दा खोज्दै जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु

विक्रम खड्का |
बैशाख २४, २०७८ शुक्रबार ११:२० बजे

बुटवल : लुम्बिनी प्रदेशकै नाम चलेका डाक्टर नन्दु पाठक, जसको नजिक पर्न पाए मात्रै पनि बिरामीले आफुलाई आधा निको भएको महसुस गर्छन् । उनी यस क्षेत्रमा गनिएका वरिष्ठ फिजिसियन हुन् । उनै चिकित्सक अहिले बुटवलको प्रादेशिक अस्पतालको कोभिड हेर्ने कमाण्डर भएका छन् । बिरामीहरुको पल पलको अवस्था हेर्ने उनी अहिले आफ्नो क्षमता र विज्ञता अनुसारको काम गर्न पाईरहेका छैनन् । 

उनि पछिल्ला दिन अस्पतालको स्टोर किपर र हेल्परले गर्ने काम अक्सिजनका सिलिण्डर ओसार्ने काम गर्छन् । त्यति मात्र होईन, अक्सिजन उद्योगमा पुगेर भरिएका सिलिण्डर दिन अनुनय विनय पनि गर्दै आएका छन् । उनकै साथमा छन्, अस्पतालका अर्को डाक्टर तथा मेडिकल सुपरीटेण्डेन्ट डा. राजेन्द्र खनाल । 


उनी पनि यस क्षेत्रकै चिनिएका रेडियोलोजिष्ट हुन् । जसले विरामीको भिडियो एक्सरे हेरेर रोगको पहिचान गर्दछन् । तर कोभिड महामारीसँगै उनी पनि आफ्नो भन्दा पनि बिरामीको वेड मिलाई दिने देखि अक्सिजनका लागि हारगुहारमै समय व्यतित गरिरहेका छन् । 

'दिन हो कि रात हो दुई दिन यता थाहा छैन्, अक्सिजन खोज्दाखोज्दै आफै थला पर्न लागिसके' – डा खनालले भने । 

उनले आफुहरुले भोग्नु परेको पिडा फेसबुकमा समेत लेखेका छन्, – 'फेरी उही कुरा ! मध्यरातमा डा. नन्दु पाठक र डा. राजेन्द्र खनाल अक्सिजन खोज्न हिँडेपछि हालत के होला ? बिरामीहरूको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केही गर्न नसकिने यो कस्तो बिबशता ! अब त एकोहोरो टोलाउन मात्र बाकि छ ।'

उनको यो अभिव्यक्तिले अक्सिजनको चरम अभाव भएको पुष्छि गर्छ । डा. खनालले चिकित्सकले बिरामी हेर्नुपर्ने बेलामा अक्सिजनको लागि रातभर भौँतारिनु परेको बताए । अस्पतालमा अक्सिजनको अभाव भईरहेको भएपनि व्यवस्थापनमा कसैले ध्यान नदिदा रातभर समस्या हुने उनको अनुभव छ । उनले भने ‘दिनभर यहाँबाट आउँछ, उताबाट आउँछ भन्ने आश्वासन पाउँछौँ । रातपरेपछि अक्सिजन हुँदैन बिरामी छटपटाउँछन्, धेरै पीडा महसुस हुन्छ ।’

लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार साँझको रेकर्ड अनुसार १ सय १३ जना कोरोना संक्रमित बिरामीहरूले उपचार गराइरहेका छन् । जसमध्ये ५६ जना अत्यन्तै गम्भीर अवस्थामा रहेका छन् । उनीहरूलाई अक्सिजन अभाव भयो भने अवस्था झन गाह्रो हुने उनी बताउँछन् ।

बिरामीहरूको चाँप बढिरहँदा अक्सिजनको माग दैनिक चार सयदेखि पाँच सय सिलिन्डर भईरहेपनि तीन सय पनि नआउँदा समस्या भएको छ । बुटवलमा बनेको अक्सिजन बैंक, जिल्ला प्रशासन कार्यालयले पठाएका सिलिण्डरले पनि माग धान्न नसकिरहेको उनले प्रतिक्रिया दिए । उनले भने –‘अक्सिजन भनेको पानीको धारामा पानी आएजस्तै गरि आउनु पर्छ । तर खाली भएका सिलिण्डर भरिएर आउँदैनन् यसले समस्या भयो ।’

डा. खनालले स्वीकार नगरेपनि अस्पतालमा पाईपलाईनको अक्सिजन सकिएर अर्को व्यवस्थापन गर्दा कतिपय बिरामीले प्राण त्याग गर्ने गरेका छन् । तर यो कुराको औपचारिक पुष्टि कतैबाट भएको छैन ।  लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारले प्रदेशको गौरवका रुपमा राख्ने गरेको छ । 

अहिले अस्पतालको वेहालका विषयमा प्रदेश सरकारका तर्फबाट ठोस पहल भने भएको छैन । तर अस्पताल प्रशासनले प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायतलाई जानकारी गराईरहेको छ । 

अक्सिजनको कृतिम अभाव भयो : स्वास्थ्य मन्त्रालय

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले अक्सिजनको कृतिम अभाव समेत भएको बताएको छ । कोरोना अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिनको लागि प्रदेश सरकारले स्थानीय अक्सिजन उत्पादन र आयातकर्तासँग छलफल गरेको बताउँछ । 

मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले लुम्बिनी प्रदेशभित्र रहेका अक्सिजन उद्योग र आयातकर्तालाई स्थानीय अस्पतालमै उत्पादित र आयातित अक्सिजन प्रदान गर्नको लागि आग्रह गरिएको र उनीहरु सकारात्मक रहेकोले केही दिनभित्रै अभाव हट्ने बताए । 

उनले भने - ‘अक्सिजनको माग यति धेरै हुन्छ भन्ने थिएन, हामी पूर्व तयारीमा पनि भएनौ, यसले गर्दा गाह्रो भयो, हामी समन्वय गरिरहेका छौँ । उनले घरघरमा सिलिण्डर राख्दा कृतिम अभाव भएको बताउँदै यो हटाउन आवश्यक रहेको बताए । 

हाम्रा उद्योग बन्द गरेर सिलिन्डर दियौँ : उद्योगी

रुपन्देहीका उद्योगीहरुले आफ्ना उद्योग बन्द गरेर आफुहरुसँग भएका अक्सिजन सिलिन्डर स्थानीय प्रशासनलाई बझाएको बताएका छन् । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देहीका उद्योगी जसले अक्सिजन प्रयोग गर्दथे, सबै प्रशासनलाई बुझाएको बताए । उनले आफुहरुले उद्योग बन्द गरेर सिलिन्डर दिएपनि भर्ने वतावरणका लागि केन्द्र र प्रदेश सरकारले समन्वय गरिदिनुपर्ने उनले बताए । 

उनले कृतिृम अभाव भइहेको भए त्यसलाई खोज्नको लागि प्रशासनलाई आग्रह गरे । रुपन्देहीमा करिब ७ सय उद्योगहरुमा रहेका अक्सिजन सिलिण्डर बुझाईएको उद्योग संघले जनाएको छ ।

उता मुख्यमन्त्री शंकर पोख्रेलले भारतवाट अक्सिजन आउने बताए पनि अहिलेसम्म आएको छैन । भारतमै अक्सिजनको हाहाकार भैरहेका वेला भारतवाट आउन लागेको भनेर मुख्यमन्त्रीले ढाटेको आरोप पनि कतिपयले लगाएका छन् । 

बेड खोज्दा खोज्दै जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु

बुटवल उपमहानगरपालिका वडा नम्बर-७ का कोरोना संक्रमित वडासदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ । नेकपा एमालेका वडासदस्यसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि संक्रमित भएपनि बेड अभावका कारण होमआइसोलेसनमा थिए ।

‘तीन दिनअघि वेड खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो, हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू, भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै निधन भयो', एमाले युवा नेता मेघराज भट्टराईले भने । 

समयमै उपचार नपाएका कारण वडासदस्य नवीनको मृत्यु भएको बताईएको छ । ‘जनप्रतिनिधिले नै यस्तो अवस्थामा भोग्नुपरेपछि अरूको अवस्था के होला ? महामारी भयावह भइसक्यो,’ बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x