कोभिड-१९

यही चालले भाइरसका नयाँ तरंगबाट कसरी पार पाऔँला ?

डा. सन्तोष दुलाल |
बैशाख २७, २०७८ सोमवार १२:४७ बजे

कोभिड-१९ अथवा नयाँ कोरोना भाइरस रोगको संक्रमणका विगत १ वर्ष ६ महिनामा अनेक तरंगहरूसहित हालसम्म विश्वमा करिब १५ करोड ७० लाख संक्रमित भइसकेका छन् । ३२ लाख ७३ हजार व्यक्तिको ज्यान गइसकेको छ (सन्दर्भ : कोरोना भाइरस संसाधन केन्द्र, जन हप्किन्स विश्वविद्यालय, संयुक्त राज्य अमेरिका) ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको दोस्रो तरंगले प्रत्येक दिन संक्रमितको र मृत्युको संख्या रेकर्डका रेकर्ड राख्दै नेपालमा विगत २ हप्तामा २ लाख १० हजार व्यक्तिहरूको नमुना परीक्षण गर्दा ८३ हजार संक्रमित थपिएर झोखिम थपिएको छ भने ४५७ जनाले कोभिड-१९ का कारणले मृत्युवरण गरेका छन् । यस अवधिमा परीक्षणमा संक्रमण दर ४० प्रतिशत छ भने संक्रमणमा मृत्युदर ०.५५ प्रतिशत छ ।


नेपालमा कोरोना संक्रमणको पहिलो तरंगको उत्कर्ष विन्दुमा २०७७ असोज २३ देखि कात्तिक ७ सम्म २ हप्तामा २ लाख २१ हजार व्यक्तिहरूको नमुना परीक्षण गर्दा ५२ हजार ३३२ मा संक्रमण र २२९ मृत्युका घटना रेकर्ड गरिएको थियो । त्यस अवधिमा परीक्षणमा संक्रमणदर २४ प्रतिशत छ भने संक्रमणमा मृत्युदर ०.४४ प्रतिशत छ ।

नेपालको कोरोना संक्रमणको पहिलो र दोस्रो तरंगको तथ्यांक विश्लेषण र व्याख्या गर्दा, हालको दोस्रो तरंग अत्यधिक आक्रामक र गम्भीर देखिएको प्रस्ट छ । भारतमा पनि पहिलो तरंगभन्दा तुलनात्मक हिसाबले दोस्रो तरंगले दैनिक संक्रमण र मृत्यु संख्यामा चार सय प्रतिशतभन्दा बढी रिपोर्ट गरिएको छ । यसले के प्रस्ट पार्छ भने हालको आनुवंशिक उत्परिवर्तित नयाँ भेरियन्टहरूको कोरोना संक्रमण अत्यासलाग्दो देखिएको छ, जसको कहरले जीवनको चक्रलाई नै रोकेको भान भएको छ ।

नेपाल र भारतमा कोरोनाको दोस्रो तरंगको संक्रमणको केही तुलनात्मक विश्लेषण यहाँ प्रस्तुत गरिएको छ :
२०७८ वैशाख २४ गते, १८ लाख २६ हजार कोरोना टेस्ट गर्दा भारतमा ४ लाख १४ हजार जनामा संक्रमण पुष्टि भएको छ, जुन परीक्षणमा कोरोना संक्रमण दर २३ प्रतिशत हुन्छ । करिब चार हजारको मृत्यु भएको छ । यस दिन, विश्वमा करिब ८ लाख ५० हजार कोरोना संक्रमित थपिएका छन् भने जम्मा संक्रमित संख्याको मात्र ४८ प्रतिशतभन्दा बढी त भारतमै मात्र छन् । त्यस्तै, विश्वमा करिब १४ हजार व्यक्तिले ज्यान गुमाएका छन् भने जम्मा मृत्यु संख्याको करिब २९ प्रतिशत भारतमा मात्र छ ।

यस दिन, नेपालमा २० हजार ४ सय कोरोना परीक्षण गर्दा करिब ९ हजार २ सय जना संक्रमित भएका छन् जुन परीक्षणमा कोरोना संक्रमण दर ४५ प्रतिशत हुन्छ । करिब ५० कोभिड-१९ सम्बन्धित मृत्यु भएको छ ।

२०७७ माघ २०, ६ लाख ५२ हजार टेस्ट गर्दा भारतमा ८ हजार ६३५ जनामा संक्रमण पुष्टि भएको थियो, जुन परीक्षणमा कोरोना संक्रमण दर १.३ प्रतिशत हुन्छ । यो तथ्यांक नै पहिलो तरंगपछिको सबैभन्दा कम हो । कोभिड-१९ सम्बन्धित मृत्यु मात्र ९४ भएको थियो ।

भारतमा केवल तीन महिनाको अवधिमा ८ हजार दैनिक कोरोना संक्रमितबाट ४ लाख १२ हजारभन्दा बढी संक्रमित पुगेको अवस्था छ, जुन उल्लेखनीय (५१ गुणा बढी) वृद्घि भएको छ भने संक्रमण दर १.३ बाट २३ प्रतिशतमा उकालो लागेको अवस्था छ, जुन १८ गुणा वृद्घि भएको छ । त्यस्तै, ९४ दैनिक मृत्यु घटनाहरूबाट उल्लेखनीय वृद्घि हुँदै २४ घण्टायता ४ हजार १ सयभन्दा बढीको मृत्युघटनाहरू जुन करिब ४५ गुणा वृद्घिले दोस्रो छालले कोरोना कहर नियन्त्रणविहीन र जनस्वास्थ्य संकटग्रस्त बनेको छ ।

२०७७ फागुन १७, ३ हजार कोरोना टेस्ट गर्दा नेपालमा केवल ७३ जना मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो, जुन परीक्षणमा कोरोना संक्रमण दर २.४ प्रतिशत हुन्छ । यो तथ्यांक नै पहिलो तरंगपछिको सबैभन्दा कम थियो । 
नेपालमा विगत केवल दुई महिनाको अवधिमा, मात्रै ७३ जना कोरोना संक्रमितबाट ९ हजारभन्दा बढी संक्रमित पुगेको अवस्था छ, जुन उल्लेखनीय (१२६ गुणा बढी) वृद्घि भएको छ । संक्रमणदर २.४ बाट ४५ प्रतिशतमा उकालो लागेको अवस्था छ, जुन १९ गुणा वृद्घि भएको छ । त्यस्तै, शून्य दैनिक मृत्यु घटनाहरूबाट उल्लेखनीय वृद्घि हुँदै ५८ मृत्युघटनाहरू घटेका छन् ।

आधिकारिक तथ्यांकभन्दा कति बढी संक्रमित र मृत्यु भएको होला, ग्रामीण समुदायमा जसको कोरोना परीक्षण र उपचारका लागि कुनै पहुँच छैन, अनुमान गर्नुस् त ! कोरोनाको दोस्रो छालले नेपालको आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रहरूलाई मरणतुल्य पारेको छ ।

कोरोना खोप अभियान
कोरोनाको आपतकालीन प्रयोगका करिब दश खोप अभियानको मद्दतले विश्वका केही देशहरू कोरोना महामारी नियन्त्रण गर्न सफल पनि भएका छन् । विश्वको जनसंख्यामा करिब ८ प्रतिशत अथवा ६४ करोड व्यक्तिहरूमा खोप लगाइसकिएको छ, जसमा पूर्ण डोज खोपको ३.८ प्रतिशत वा ३० करोड व्यक्तिहरूमा एकल डोज खोप लगाइएको आँकडाले रिपोर्ट गरेको छ । इजरायलले द्रुत कोरोना खोप अभियानले आफ्नो जनसंख्याको करिब ६० प्रतिशतमा खोप लगाएर दैनिक संक्रमितको संख्या करिब ८-१० हजारबाट ५० भन्दा कममा झारेको छ । 

बेलायतले पनि खोप अभियानले ५० प्रतिशत जनसंख्यामा खोप लगाई कोरोना संक्रमणलाई वर्तमानमा दैनिक ६० हजारबाट २ हजार संक्रमणमा पुर्याएको छ । अमेरिकामा पनि यस्तै खोप अभियानले कोरोना संक्रमण रिपोर्ट र आँकडा देखिएको छ । 

समयमा नै फेरि पाठ सिकौँ, नभए कोरोना महामारीका क्रमश: अरु तरंगहरूले हामीलाई अझै संकटको भुमरीमा धकेल्ने छ ।

हाम्रै छिमेकी देश भुटानले आफ्नो जनसंख्याको करिब ६३ प्रतिशतमा खोप लगाइसकेको छ, त्यसैले कोरोना संक्रमणलाई नियन्त्रणमै राखेको छ । तर भारतले ३ प्रतिशत जनसंख्यामा पनि पूर्ण डोज खोप लगाउन सकेको छैन, कोरोना संक्रमणले रेकर्ड विन्दु बनाउँदै चरम उत्कर्षमा पुगेको छ । त्यस्तै, नेपालले आफ्नो जनसंख्याको १.५ प्रतिशत जनसंख्यामामा पनि पूर्ण डोज खोप अभियान चलाउन सकेको छैन, हाल कोरोना खोप खरिद र निर्यात अन्योलले पहिलो डोज खोप लगाएकाले दोस्रो डोज पाउने मौका नै द्विविधामा परेको छ ।

कोरोनाको दोस्रो छाल आउन सक्छ है भनेर रातदिन करायौँ, लेख्यौँ र सुनाउन कोसिस गर्यौं तर... 
- संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिन उचित जनस्वास्थ्यका नियम, मापदण्ड पालना गरौँ, तर हामी कोरोना केही हैन भन्न लाग्यौँ, हामीले कोरोना जितिसक्यौँ भनेर गर्व गर्दै बेवस्ता गरिहिड्यौँ ।
- नागरिक नैतिक अभ्यास पालना गर्न प्रतिबद्ध र अनुशासित बनौँ, तर हामी देशका अगुवा नै आन्दोलन, सभा, मेला, भेलामा व्यस्त रह्यौँ, बन्यौँ ।
- अत्याधुनिक प्रविधियुक्त (डिजिटल) सम्पर्क ट्रेसिङ र ट्रयाकिङ प्रणालीको विकास गरौँ, प्रभावकारी प्रसारण र संक्रमणको प्रारम्भिक चेतावनी प्रणाली विकास गरौँ, तर आवश्यक नभएको अनुभूति गर्‍यौँ ।
- वैज्ञानिक मूल्य-मान्यतामा आधारित उपचार र व्यवस्थापन गरौँ भन्दा हामी आफँै टिके विशिष्ट वैज्ञानिक र अनुसन्धानकर्ता भयौँ जसलाई कोरोना सम्बन्धित सम्पूर्ण ज्ञान छ ।
- आनुवंशिक अनुसन्धान र अध्ययनका साथ भेरियन्ट पहिचान प्रणाली विकास गरौँ, तर हङकङ-सिंगापुर पठाउन नै सजिलो भयो ।
- द्रुत खोप अभियानमा अगाडि बढौँ भन्दा कमिसनले खोप खरिद/आयात रोकियो, दोस्रो डोज कहिले पाउने अन्योलले मार्‍यो ।
- कोरोनाको खोप विकासमा क्लिनिकल अनुसन्धान, उत्पादनका लागि पूर्वाधार विकास, प्रविधि हस्तान्तरणको पहल र नेपालमै खोप विकासका प्रयास/नयाँ आयाम गर्न आवाज बुलन्द गरियो, तर यस प्रयासको साटो खोप   किनेर ल्याउदा नै उचित ठानियो ।
- महामारी पूर्ण नियन्त्रणमा बहुपक्षीय दृष्टिकोणसहित, उचित आर्थिक संसाधनको प्रबन्धसहित आपतकालीन अवस्थासँग लड्न यथाशीघ्र तयारी र उदाहरणीय सामूहिक सहकार्य गरौँ तर राजनीतिक खेलमै सधैँ व्यस्त पो बन्यौँ ।
- कोभिड-१९ का गम्भीर बिरामीहरूको द्रुत परीक्षण र निदान, सपोर्टिभ केयर र फ्रन्टलाइनर स्वास्थ्यकर्मीहरूको परिचालन, उचित व्यवस्थापन र उपचारका लागि सरकारी अस्पताल, स्वास्थ्य संस्था, ग्रामीण स्वास्थ्य केन्द्र अविलम्ब तयारी गर्न चुक्यौँ, अहिले कोभिड-१९ का गम्भीर बिरामीले सरकारीमा बेड नपाउने, निजी अस्पतालमा दैनिक १० देखी ५० हजार रुपैयाँको चर्को शुल्क तिर्न नसक्ने, आफ्नै घरमा उपचार नपाएर मर्नुपर्ने संकटमा पुग्यौँ ।
- लकडाउन गर्नैपरे, दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई भोकभोकै मर्नुपर्ने स्थितिबाट बचाउन राहतको व्यवस्था गर्नुपर्ने र राज्यले जिम्मेवारी लिनुपर्ने, तर खोइ त राहत ?
- कोरोना महामारीको कहरले पारेको सन्त्रास, र इतिहासमा अन्य महामारीले पारेको विनाशका अनुभवबाट पाठ सिक्न अक्षम भयौँ र वर्तमानमा कोरोनाको दोस्रो तरंगलाई रोक्न असफल भयौँ ।
घोक्रो मात्र सुक्यो, कलमको मसी सुक्यो, अक्षरहरू विलीन भए मात्र ! कोरोना कहरले वर्तमान मरणतुल्य अवस्थामा पुग्यौँ मात्र ! समयमा नै फेरि पाठ सिकौँ, नभए कोरोना महामारीका क्रमश: अरु तरंगहरूले हामीलाई अझै संकटको भुमरीमा धकेल्ने छ । (तालिका, ग्राफ लेखक स्वंयम ।)


Author

डा. सन्तोष दुलाल

(दुलाल वैज्ञानिक तथा जीवाणुविज्ञ हुन् ।)


थप समाचार
x