कोभिड-१९

हेटौंडामा ‘अटो एम्बुलेन्स’

महानगरले स्वास्थ्य सामाग्री नदिएको चालकहरूको गुनासो

सुसन लामिछाने |
जेठ १०, २०७८ सोमबार १५:५८ बजे

हेटौंडाः हेटौंडा उपमहानगरभित्र अटो एम्बुलेन्स सञ्‍चालनमा ल्याइएको छ । नगरको १९ वडामा दुई–दुई अटो एम्बुलेन्स सञ्चालनमा छ । अटो एम्बुलेन्सले कोभिड–१९ संक्रमितलाई बोक्ने, अस्पताबाट डिस्चार्ज हुने व्यक्तिहरूलाई मात्र बोक्ने गर्दछ । तर, अहिले अटो एम्बुलेन्सहरूले संक्रमित बाहेकका व्यक्तिहरूलाई पनि बोक्न थालेका छन् । 

हेटौंडामा संचालनमा रहेको ३८ अटोमध्ये केहीले बिरामी बोक्नै छाडेको चालकहरूले बताएका छन् । ‘अटोलाई एम्बुलेन्स त बनाइयो, अन्य यात्रुलाई बोक्न मिल्दैन । दिनभर कुर्दासमेत तेल खर्च बल्ल उठ्छ । उही सेवामुलक मात्र भइरहेको छ,’ अटो एम्बुलेन्स चालक  विकास लम्साल भन्छन्, ‘हामीलाई एक थान पिपिई मात्र नगरले उपलब्ध गरायो ।’ मास्क र सेनिटाइजर समेत आफैले किन्नुपर्छ । अझ पिपिई त च्यातिन थालेको उनले सुनाए । ‘भएको पिपिई पानीमा भिजे भने चिसै लगाएर चलाउनुपर्छ । फेर्नलाई अर्को सेट पनि छैन । उनले दुःखेको गर्दै भने, ‘अब चाहिँ पुग्यो, यसमा हात हालिन्न ।’


संक्रमितलाई मात्र राख्ने अटोलाई निसंङ्क्रमण भने गरिदैन । आफूसँग भएको सेनिटाइजर नै छर्कने गरेको लम्सालले बताए । नगरले थप एक थान पिपिई सेट, मास्क र सेनिटाइजर उपलब्ध गरादिनुपर्ने उनको भनाइ छ । ‘दिनभर पिपिई लगाएका हुन्छौँ । बेलुका घरपुगेर सरफ पानीमा धोएर भोलिपल्ट लगाउनुपर्छ । कहिले त सुक्दैन चिसै पनि लगाउनुपर्छ’ उनले भने । यता उनको श्रीमतीलाई कोभिड पुष्टि भएको ११ दिन भयो । उनलाई भने संक्रमण भएको छैन । 

बजारमा अटो एम्बुलेन्सले पहिलेको भन्दा बढी भाडा लिने गरेको चालकहरू स्वीकार गर्छन् । स्वास्थ्य सामग्री आफैले किन्नुपर्दा बढी भाडा लिने गरेको अर्का अटो एम्बुलेन्सका चालक टोकबहादुर तामाङ बताउँछन् । अटोलाई एम्बुलेन्स बनाएको र अन्य यात्रुहरू हाल्न नपाइने हुँदा एम्बुलेन्सकै बराबर भाडा लिने गरेको उनको भनाइ छ । यद्यपि अटो एम्बुलेन्सले संक्रमितहरुलाई अस्पताल आउन सहज भएको छ ।       
 


Author

थप समाचार
x