कोभिड-१९

केही दिनयता घटेको कोभिड संक्रमितको संख्यालाई लिएर के भन्छन् विज्ञ ?

'हेलचेक्रयाइँ नगरौं पुनः फैलन सक्छ'

अतिन आचार्य |
जेठ १८, २०७८ मगलवार १६:५६ बजे

काठमाडौँ : नेपलामा दोस्रो लहरको कोभिड-१९ को संक्रमण वैशाखको पहिलो सातादेखि तीव्र रुपमा फैलियो । गत वैशाख १३ गते तीन हजार ५ सय ५६ जनालाई संक्रमण देखिएको थियो । लगत्तै १४ गते ४ हजार ५ सय २४ जनामा संक्रमण देखियो ।  त्यसपछि दैनिक ८ देखि ९ हजारको हाराहारीमा संक्रमित देखिएका थिए ।

निरन्तर संक्रमणको दर उकालो लाग्दै गयो र वैशाख १६ गतेबाट देशभरका प्राय सबै जिल्ला निषेधाज्ञा जारी गरिएको छ । करिब एक महिनापछि संक्रमितको संख्या एक्कासि जेठ १६ गते ४ हजार ३ सय ६९ मा संक्रमण देखियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक महिना अघिसम्मको संक्रमितको संख्या हेर्दा घटेको देखिन्छ । शुक्रबार ६ हजार ९ सय ५१, शनिबार ४ हजार ४ सय ८७, आइतबार ४ हजार ३ सय ६९ र सोमबार ४ हजार ७ सय ६२ मा संक्रमित देखिएको छ । विगतको तुलनालाई हेर्दा केही दिनयता संक्रमितको संख्या कम हुँदै गएको हो ।

एक महिनापछि संक्रमण घट्दा आशाको संकेत देखियो । यो समाचार तयार पार्दासम्म स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ३ सय ८६ को मृत्यु भइसकेको छ । सक्रिय संक्रमित १ लाख ६ हजार ४ सय ७० छ ।

दुई-तीन दिनयता घट्दै आएको संक्रमितको संख्याले केही राहत प्रदान गरेको छ । यही अनुसार संक्रमण घट्दै गए दुई महिनाभित्रमा अहिले देखिएको संक्रमण कम हुने देखिएको छ ।

कोभिड नियन्त्रण गर्न खोपलाई पहिलो प्राथमिकतामा राखी पछिल्लो केही दिनयता घट्दै आएको संक्रमितको संख्या सर्वसाधारण नागरिकले पुनः हेलचेक्रयाइँ गरेमा दाेस्रो लहरको कोभिड फैलने सक्ने जनस्वास्थ्यविज्ञहरूले बताएका छन् ।

'निषेधाज्ञा लगाए पनि अपेक्षा गरे बमोजिम घटेको छैन'

संक्रमण घट्ने क्रम बढे पनि आममानिसले जनस्वास्थ्य मापदण्ड पालना नगरेमा पुनः संक्रमण फैलने महामारी विज्ञ डा. बिराज कर्मचार्या बताउँछन् । उनले निषेधाज्ञा खुकुलो हुँदै गएपछि थप संक्रमण फैलन सक्ने सम्भावना औल्याएका छन् ।

निषेधाज्ञामा जुन संख्यामा संक्रमण घट्नुपर्ने हो त्यसअनुसार संख्यामा कमी नआएको कर्माचार्याले बताए । केही दिनयता अस्पतालमा भने संक्रमितको लागि बेड पाउन सहज बन्दै गएको उनले बताए ।

'संक्रमितको संख्या सामान्य अवस्थामा आइपुग्‍न दुई महिना लाग्‍न सक्छ,' डा. कर्मचार्या भन्छन,' दोस्रो लहरको कोभिड फैलिएसँगै व्यापक रुपमा परीक्षण हुन सकेको छैन ।' संक्रमणको नियन्त्रण गर्न बढी मानिसको परीक्षण गरी आइसोलेट गर्न उनले सुझाव दिए ।

कर्माचार्यले बढी भन्दा बढी मानिसलाई कोभिडविरुद्धको खोप लगाउनुपर्ने आवश्यक रहेकाे बताए । खोपको दुवै डोज मात्रा लगाएका मानिसहरू बढी गम्भीर नभएको र खोप नलगाएका मानिसको मृत्यु भइरहेको उनको भनाइ छ । 'यसबाट सुरक्षित हुने उपाय भनेको खोप हो,' उनले भने ।

'कोभिड पिकमा पुगेर घट्दैछ'

एक महिनाभन्दा बढी निषेधाज्ञा भइसकेकाले कोभिड नियन्त्रणमा यसको प्रभाव देखिएकाले संक्रमण कम हुँदै गएको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् । नेपालमा कोभिड संक्रमण पिकमा पुगेर घट्दै गएको उनको भनाइ छ । उनका अनुसार अबको एक महिनासम्म दैनिक १ हजार संक्रमित देखापर्न सक्छन् ।

'परीक्षणको दायरा कम भए पनि प्रतिशतको हिसाबले संक्रमितको संख्या कम हुदै गएको छ,' डा. कोइराला भन्छन,' संक्रमितको संख्या कम हुँदै गए पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न छोड्नुहुदैन ।'  उनले खोप लगाउने अभियानलाई तीव्रताका साथ अगाडि बढाउन माग गरेका छन् ।

संक्रमितको संख्या कम भएकाले पूर्ण रुपमा निषेधाज्ञा खोल्न नहुने डा. कोइरालाको भनाइ छ । क्षेत्र निर्धारण गरी बिस्तारै बिस्तारै खोल्नुपर्ने उनले बताए । 'जनस्वास्थ्यको मापदण्ड अपनाए दोस्रो लहरको कोभिड पुनः तीव्र रुपमा फैलन सक्छ,' उनले थपे ।

'संक्रमितको दर स्थिर पनि हुन सक्छ'

पछिल्लो समय केही दिन यता संक्रमितको संख्या घट्दै गएकाले संक्रमण नियन्त्रणमा आएको भाइरोलोजिष्ट, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डे बताउँछन् । उनका अनुसार संक्रमितको घट्ने संख्या ३० प्रतिशत रहेको छ । यद्यपि पूर्ण रूपमा संक्रमण घटिनसकेको उनले बताए ।

'घट्ने ट्रेन्ड पनि छ । भारतमा पनि घट्दै गएकाले त्यसको प्रभाव नेपालमा पर्न सक्छ,' उनले भने,' केही दिन संक्रमितको संख्या कम हुँदैमा उत्साहित भइहाल्नुपर्ने अवस्था छैन । स्थिर पनि हुन सक्छ ।'

मुख्य गरी सामाजिक दूरी कायम र जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न उनले सुझाव दिएका छन् । व्यापक रूपमा परीक्षण बढाउने र पोजेटीभ देखिएमा आइसोलेट गरी आम नागरिकलाई सुरक्षित राख्‍नुपर्ने उनको भनाइ छ । परीक्षणसँगै खोप कार्यक्रमलाई पहिलो प्राथकितामा राख्‍नुपर्ने उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x