कोभिड-१९

असोज मसान्तसम्म १ करोड ५ लाख मात्रा खोप आइपुग्‍ने

इकागज |
साउन ११, २०७८ सोमवार २०:१६ बजे

काठमाडौँ– असोज मसान्तसम्म १ करोड ५ लाख खोप प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जापानले कोभ्याक्स अन्तर्गत दिन लागेको १६ लाख मात्रा खोप भदौको पहिलो साता र कोभ्यासमार्फत् नै थप ३ लाख ४८ हजार मात्रा खोप भदौको अन्तिम साता प्राप्त हुने बताए । 

त्यस्तै, वैदेशिक  अनुदान अन्तर्गत चीन सरकारबाट १६ लाख मात्रा खोप साउनको अन्तिम साता प्राप्त हुने बताए ।  खरिदबाट प्राप्त हुने मध्ये चीनबाट ६० लाख भेरोसेल खोप भदौको मसान्तसम्म प्राप्त हुने बताइएको छ । भारतबाट खरिद सम्झौता भएर पनि रोकिएको १० लाख खोप भदौको दोस्रो साता प्राप्त हुने श्रेष्ठले जानकारी दिए । असोजदेखि चैत मसान्तसम्म थप ३ करोड २३ लाख खोप जुटाउने र त्यसमा बालबालिकाका लागि फाइजरका ६० लाख खोप खरिद गर्ने योजना रहेको उनले समितिलाई जानकारी दिए । 


खोप  कोल्डचेन भण्डारणका लागि ८ ओटा कोल्डचेन भण्डारणको लागि ८ ओटा कोल्डचेन भण्डारण गृह निर्माण सम्पन्न भएको थप भण्डारण गृह र वितरण संयन्त्र प्रभावकारी बनाउने उनले बताए । 

कोभिड–१९ को तेश्रो लहर आउन सक्ने अनुमान सार्वजनिक भइरहेका बेला त्यसको नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले के तयारीका सम्बन्धमा संसदीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको हो । उनले स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी लागू गर्नुका साथै संक्रमण फैलिएका स्थानमा आवागमनमा कडाइँ गरिने बताए । अस्पतालहरूमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयू बेडको प्रबन्ध गरिएको जानकारी दिए । 

अहिले सरकारी र निजी गरी १५७ अस्पतालमा कोभिड–१९ को उपचार भैरहेको छ । यसमध्ये ४५ निजी अस्पतालसँग उपचारबापत् शोधभर्नाका दिने गरी सम्झौता भएको उनले समितिलाई जानकारी गराए । देशभर अहिले आइसीयू बेड तीन हजार तयार अवस्थामा छन् भने ६३० थपिने प्रक्रियामा रहेको उनले जानकारी दिए । भेन्टिलेटर हाल ९०० को संख्यामा छन् भने १८० थप गर्ने प्रक्रियामा रहेको र हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) सरकारी अस्पतालमा दुई हजार ७५ साथै निजीमा सात सय ७८ रहेका छन् । उनले १४ सय एचडीयू बेड थपिने क्रममा रहेको जानकारी गराएका छन् । 

नवनियुक्त राज्यमन्त्री श्रेष्ठले बच्चाहरूको लागि १८० भेन्टिलेटर, दुई सय ७५ आइसीयू बेड थप्ने काम अघि बढाइएको संसदीय समितिलाई जानकारी गराएका छन् । संसदीय समितिले तेश्रो लहरले खासगरी बालबालिकालाई बढी असर गर्ने अनुसन्धानहरूले देखाएको भन्दै त्यसका लागि आवश्यक पूर्व तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।  
 


Author

थप समाचार
x