कोभिड-१९

वडाका ३ स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न माग

इकागज |
साउन २३, २०७८ शनिबार १३:४४ बजे

काठमाडौँ- काठमाडौँका स्थानीयबासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । शनिबार काठमाडौँ महानगरपालिका-१० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरूले खोप लगाउन धेरैको बाँकि रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

हिजो (शुक्रबार)बाट सुरु भएको खोप काठमाडौँ महानगरपालिका ३२ वटै वडाको १/१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरू धेरै भएकाले वडामा ३ वटा स्थान तोकि सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काले माग गरे । उनले भने, ‘धेरै बाँकि छन्-भेरोसेल खोपको दोस्रो डोज लगाउनेहरू । एउटा वडामा ३ वटा ठाउँ तोकि सबैले खोप लगाउने पाउने व्यवस्था सरकारले गरिदिए अझै राम्रो हुने थियो । खोप सहज ढंगले लगाउन पाएकोमा सरकारलाई धन्यवाद ।’


यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा-१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरूले राम्रो व्यवस्था गरेको बताए । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरूका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको उनको दाबी थियो । वडाध्यक्ष केसीले भने, ‘राम्रोसँग दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त महिलाहरूका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको छ ।’

काठमाडौं महानगरपालिकाले भोली (आईतबार) सम्म यो खोप लगाउने व्यवस्था गरेको छ । तोकिएका सबै खोप केन्द्रहरूका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले बताए ।


Author

थप समाचार
x