कोभिड-१९

अमेरिकाद्वारा नेपाललाई कोभिड सहयोगका निम्ति थप सहायता प्रदान

इकागज |
भदौ २, २०७८ बुधबार १३:५४ बजे

काठमाडौँ- नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडले काठमाडौँस्थित वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुई वटा तरल अक्सिजन ट्याङ्कको अनुदान प्रदान गरेका छन् । मंगलबार उनीहरूले अक्सिजन ट्याङ्कको अनुदान प्रदान गरेका हुन् ।

तरल अक्सिजन प्रणालीहरू उक्त अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन् । अक्सिजनको अविच्छिन्‍न आपूर्ति गर्ने वा एक घण्टामा ४० लिटर क्षमताका लगभग ४० वटा सिलिन्डर भर्नेछन् । युएसएआईडीको सहयोगमा थप चार वटा तरल अक्सिजन ट्याङ्कहरू देशभरका विभिन्‍न अस्पतालहरूमा जडान हुने बताइएको छ ।


हिजो नै अमेरिकाले नेपाललाई युएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलरको अत्यन्त जरुरी कोभिड-१९ सहायता प्रदान गर्ने घोषणा पनि गरेको छ । सो थप रकम सहायताले पालिकाहरूमा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीहरूलाई टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्नेछ ।

उक्त कोषले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड-१९ सम्बन्धी संहिता तथा मार्गदर्शन विकास गर्न, ‘सर्ज’ क्षमता अभिवृद्धिका निम्ति स्वास्थ्यकर्मीहरूको प्रशिक्षण तथा भर्ती गर्न र सघन उपचार सुदृढ गर्न पनि मद्दत पुग्‍ने बताइएको छ । आफ्ना साझेदारहरूसँग मिलेर युएसएआईडीले कोभिड-१९ का बिरामीहरूलाई आइसोलेसन केन्द्रमा र दूर चिकित्साको माध्यमबाट उनीहरूको घरमा पनि मद्दत पुग्‍ने बताइएको छ ।

हस्तान्तरण समारोहमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी अधिकृत डा. भूपेन्द्र बस्नेत र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. संगीता मिश्रको पनि उपस्थिति थियो ।


Author

थप समाचार
x